वामपन्थी कमजोर हुने अवस्था आउन नदिन नयाँ गठबन्धन : देवेन्द्र पौडेल
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो ।’  

विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनको भनाइ छ । ‘कुनै न कुनै बेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ’, उनले भने, ‘राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।’ 

नेकपा (एमाले) सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहन उनको भनाइ छ । ‘समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै हुनुहुन्छ, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौँ’, सचिव पौडेलले भने ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ११:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया