ओली भन्छन्- ‘जेसुकै परिवर्तन भएपनि मिसन-२०८४ छोड्दैनौँ’
फाइल तस्बिर

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरूको उद्देश्य भने नछोड्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्ति निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, सम्वद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन–२०८४ बनेको उनको भनाइ छ । 

ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धि हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाइ छ ।  

अध्यक्ष ओलीले मजदुरको न्यूनतम् ज्याला पाउने कुरा समेत कानुनमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए । 

‘एउटा हल्ला चल्ने गरेको छ । व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । यो नै गलत भाष्य हो । मजदुरको अवस्था के यस्तै थियो उहिले ? अथवा नेपालमा मजदुर आन्दोलन शुरु भएको ७७ वर्ष अगाडि मजदुरको अवस्था यस्तै थियो ? सामाजिक सुरक्षाको अवस्था यस्तै थियो ? सम्मानित रोजगार, सामाजिक सुरक्षाको प्रबन्ध, अनौपचारिक क्षेत्रमा क्रियाशीलको पनि सामाजिक सुरक्षाको प्रबन्धलगायत सामाजिक सुरक्षाका अन्य प्रबन्धहरू सबैलाई आकर्षित हुने प्रबन्धहरू छन्,’ ओलीले भने, ‘ती प्रबन्धसमेतबाट के मजदुर वर्गले त्यसबेला लाभ दिएका पाएको थियो ? यो आफ्नो संघर्ष र ती संघर्षहरूमा आफूले पाएको दुःख कष्ट, भोगेको बलिदानका कुरा र त्यसबाट प्राप्त गरेका उपलब्धिहरूलाई आफैंले नकार्नुजस्तै हो । त्यसकारण हामीले धेरै महत्वपूर्ण र ठूला उपलब्धिहरू हासिल गरेका छौँ । तर, अझै उपलब्धि  हासिल गर्दै जानुछ । सबभन्दा महत्वपूर्ण कुरा सम्मानित ढंगले काम गर्ने, कामको सुरक्षा र मजदुरहरूका हितहरूको परिवारको सदस्यहरूको जिविका चल्नेगरी स्यालरी यी चीजहरू अझै हामीले प्राप्त गर्न बाँकी छ । त्यो हुनुपर्छ ।’   

अध्यक्ष ओलीले शहीदका अधुरा सपना पूरा गर्नका लागि आफूहरूले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई अघि बढाएको बताए । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १४:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया