पम्फा भुसालको दाबी : नयाँ समीकरण देश र राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदम [अन्तर्वार्ता]
फाइल तस्बिर

पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । प्रस्तुत छ, सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग गरिएको संक्षिप्त कुराकानी : 

समीकरण परिवर्तनको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन्, पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ ?

पछिल्लो सत्ता समीकरण हाम्रो देशको नितान्त आन्तरिक विषय हो । यसमा कुनै बाह्य शक्तिको भूमिका छ भन्ने कुरा सोच्न पनि सकिन्न । सरकारभित्र आबद्ध भएका दलको कामको अप्ठ्यारोलाई ध्यानमा राखेर विकसित भएको घटना हो यो । नेपालमा हुने हरेक राजनीतिक घटनामा विदेशीलाई जोड्ने गरिन्छ, त्यो गलत हो । पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम हो । यो नयाँ गठबन्धनले छिमेकी मित्रराष्ट्र तथा विश्व समुदायसँग अझै घनिष्ठ सम्बन्ध कायम गरी आफ्नो कामकारबाही अगाडि बढाउँछ । मित्रराष्ट्रसँगको सम्बन्ध अत्यन्त सुदृढ भएर जानेछ ।

छिटोछिटो समीकरण परिवर्तन रहँदा राजनीतिक अस्थिरता बढ्यो भन्ने टिप्पणी हुँदै आएको छ नि ?

तत्कालका लागि केन्द्र र प्रदेशका सरकारमा केही फेरबदल हुँदा त्यस्तो देखिएला । तर, दीर्घकालमा यो एक प्रकारको सकारात्मक राजनीतिक ध्रुवीकरण हो । यसले राजनीतिमा दिगोपना ल्याउँछ । विगतमा भएको वाम ध्रुवीकरणलाई टिकाउन नसकिएको अवस्थालाई आत्मसात् गरी आत्मसमीक्षा र कमीकमजोरी सुधार गर्दै यो ध्रुवीकरण अगाडि बढ्छ र राजनीतिक स्थायित्वको दिशामा मुलुकलाई लैजान्छ । यो देशमा वाम धार बलियो भयो भने राजनीतिक स्थायित्व हुन्छ । त्यसैले तत्काल अस्थिरजस्तो देखिए पनि दीर्घकालमा यसले राजनीतिक स्थायित्व कायम गर्छ । पछिल्लो राजनीतिक समीकरण यो देशको लागि र राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदम हुनेछ ।

सत्ता समीकरणमा आएको बदलावबाट सङ्क्रमणकालीन न्यायका बाँकी कार्य पूरा गर्न अप्ठ्यारो पर्ने आशङ्का गर्न थालिएको छ, त्यस्तै हुने त होइन ?



शान्ति प्रक्रिया सबै राजनीतिक दल तथा मुलुककै साझा चासो, चिन्ता र सरोकारको विषय हो । त्यसैले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्छ । पुरानो गठबन्धनमा शान्ति प्रक्रियालाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको थियो । हिजोको प्रमुख प्रतिपक्ष सत्तामा आउँदै गर्दा त्यसले अझै सहयोग पुग्छ भन्ने मलाई लाग्छ । यो राजनीतिक घटनाक्रमले शान्ति प्रक्रियालाई टुंग्याउन मद्दत गर्नेछ । तर, कतिपयलाई वाम गठबन्धन मन नपरेर यसलाई भत्काउने कोसिस पनि हुन सक्छ । हाम्रा राजनीतिक दल तथा शीर्ष नेतृत्व आफैंमा बढो परिपक्व छन्, जिम्मेवार छन् ।

विगतमा मौलिक ढंगले शान्ति प्रक्रियाका महत्वपूर्ण प्रक्रिया सम्पन्न हुँदै आएका हुन् । अब यसका बाँकी कार्यभार पनि सत्तापक्ष र प्रतिपक्ष मिलेरै पूरा गर्नेछन् । नेपालमा सधैंका निम्ति शान्ति सुनिश्चित गर्दै त्यसलाई दिगो बनाउने र त्यसैको जगबाट लोकतन्त्रलाई सुदृढ बनाउँदै समाजवादतर्फ जान सबै दल जिम्मेवारीपूर्वक लाग्नेछन्, लाग्नुपर्छ । 



मुलुकलाई राजनीतिकरूपमा स्थायित्व दिन माओवादीले भूमिका खेल्न सकेन भन्ने टिप्पणीलाई कसरी हेर्नुहुन्छ ?  

गतिशीलता र अस्थिरतालाई मानिसले छुट्याउन नसकेर यसो भनिएको हो । माओवादी नै नेपालको सबैभन्दा गतिशील पार्टी हो । यही पार्टीको गतिशीलताले देशमा हालसम्मका ठूला–ठूला परिवर्तन भएका छन् । गणतन्त्र स्थापना भएको छ । राजनीतिक धार अग्रगतिमा बढेको छ । दिगो बनाउन माओवादीले निरन्तर नेतृत्वदायी भूमिका खेलेको छ । गतिशीलतालाई अस्थितरता देख्नु भ्रम हो । रासस  

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १६:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया