लयमा कुशल मल्ल, सिरिजमा लिए सर्वाधिक विकेट [भिडियोसहित]
तस्बिर : क्यान

मंगलबार घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले अपेक्षाकृत नतिजा निकाल्न सकेन । नेपालको लक्ष्य सिरिज जित्ने थियो । तर, घरेलु टिम त्यसमा असफल भयो । फाइनलमा नेदरल्याण्ड्ससँग ४ विकेटले स्तब्ध भएपछि नेपालको उपाधि लक्ष्य पूरा नभएको हो । 

यस श्रृंखलामा नेपालले फाइनलसहित पाँच खेल खेल्यो, जसमा नेपालले तीनमा पराजय र दुई खेलमा मात्र जित हात पार्‍यो । सिरिजको पहिलो र दोस्रो खेलमा नेपाल क्रमशः नामिबियासँग २० रन तथा नेदरल्याण्ड्सविरुद्ध दुई रनले पराजित भयो ।  

लिग चरणको दुई खेलमा भने नेपालले राम्रो कमब्याक गर्‍यो । नेपालले आफ्नो तेस्रो र चौथो खेलमा क्रमशः नामिबियालाई तीन रन तथा नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो । यस श्रृंखलामा नेपालले ब्याटिङमा राम्रो गरे पनि बलिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन । टिमका महत्वपूर्ण बलर सोमपाल कामी, करण केसी र अविनाश बोहराको प्रदर्शनप्रति समर्थक त्यति सन्तुष्ट छैनन् ।  

यस सिरिजमा सोमपालले ५ खेलमा २ विकेट मात्र लिए । यस्तै, करणले ५ खेलमा ६ तथा अविनाशले ४ खेलमा तीन विकेट मात्र हात पारे । यी तीन बलर नेपालका लागि टी–२० आईमा सर्वाधिक विकेट लिने मामलामा शीर्ष चारभित्र पर्छन् । तर, उनीहरू यसपटक घरेलु मैदानमै लयमा देखिएनन् ।

अविनाश बाेहरा, तस्बिर : क्यान



युवा अलराउन्डर कुशल मल्लले भने यो सिरिजमा सानदार प्रदर्शन गरे । उनी श्रृंखलामा सर्वाधिक विकेट लिने मामलामा ‘नम्बर वान’ बने । कुशलले ४ इनिङ्समा ७.९१ को इकोनमीमा सर्वाधिक ७ विकेट लिए । 

उनले टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कुशलले हालसम्म ३० टी–२० आई इनिङ्स खेल्दा एक शतक र चार अर्धशतकको मद्दतमा ७ सय ११ रन बनाएका छन् । यस्तै, उनले यो ढाँचामा १८ विकेट पनि लिएका छन् । 



यस्तै, दीपेन्द्र सिंह ऐरीले यो सिरिजमा किफायती बलिङ गरे । उनले ५ खेलमा ६.०५ को इकोनमीमा ४ विकेट लिए । ब्याटिङतर्फको कुरा गर्दा यस सिरिजमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र गुलशन झाले राम्रो प्रदर्शन गरे ।

रोहितले ५ खेलमा एक अर्धशतसहित १७३ रन बनाए । उनी यस सिरिजमा सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा रहे । रोहितभन्दा अगाडि नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट छन् । उनले ५ खेलमा सर्वाधिक २४७ रन बनाए । 

माइकल लेभिट, तस्बिर : क्यान

यस्तै, यो श्रृंखलामा दीपेन्द्रले १३२, कुशलले १२६ तथा गुलशनले ११० रन जोडे । रोहित, दीपेन्द्र, कुशल र गुलशन अलराउन्डरको भूमिका निर्वाह गर्छन् । त्रिकोणात्मक सिरिजमा ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । यस सिरिजमा आसिफले ५ खेलमा ९६ तथा कुशलले ४ खेलमा ३२ रन मात्र बनाउन सके ।  

नेपाल, नेदरल्याण्ड्स र नामिबियाले आसन्न आइसिसी टी–२० विश्वकपअघि त्रिकोणात्मक सिरिज खेलेका हुन् । विश्वकपमा नेपाल र नेदरल्याण्ड्स एउटै समूहमा छन् । यी दुई टिमले विश्वकपमा पहिलो खेल ४ जुनमा खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ८:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया