प्रदीप ज्ञवालीले भन्छन्– ‘एमाले वाम एकता गर्न हतारमा छैन’

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् । 

उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्तसमेत प्रस्तुत गरे । उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकतालगायतका विषयमा कुनै पनि छलफल नभएको बताए । 

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए । 

‘अहिले त हामी यो संसदभित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौँ । त्यहाँ चाहे नेकपा (माओवादी केन्द्र) सँग होस्, नेकपा एससँगको कुरा होस् । किनभने हिजो हामीले चाहे गरेको  एकता बडो सदासहायतापूर्वक गरेका थियौँ । अत्यन्त उत्साहित पनि थियौँ । तर, टिकेन । त्यसो भएको हुनाले विगतका पाठहरूलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मकरूपमा एकता नभइकन माथिको जोडघटाउबाट बनेको एकता चाहिँ टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ,’ ज्ञवालीले भने, ‘त्यसले गर्दाखेरी अहिले हामी त्यसमा हतारिदैनौँ । सरकार बलियो बनाउ, सरकार टिकाउ, सरकारबाट डेलिभरी दिउ । दलहरूका बीचमा केही नीतिगत भिन्नताहरू छन् । केही भावनात्मक भिन्नताहरू छन् केही शैलीगत भिन्नताहरू छन् । त्यसमा स्वस्थ बहस चलाउँदै जाउँ । र, त्यो कामले विस्तारैविस्तारै एउटा भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मकरूपमा निकटता ल्याउँदै गर्‍यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन । 



उनले एमालेले बामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि दोहोर्याए ।    

‘हामी त सदैव हाम्रो देशमा मूलतः दुई वटा पार्टी बनून् । एउटा सेन्टर टु राइट होस्, एउटा सेन्टर टु लेफ्ट होस् । र, एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौँ । ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवी​करणतिर जानैपर्ने हुन्छ । र, त्यो ध्रुवीकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो । अर्को धुव्रको नेतृत्व कांग्रेसले गर्ने हो । तर, अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनै पनि विषयमा छलफल गरिरहेका छैनौँ । अहिले चाहिँ एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा ज्ञवालीले भने ।   



  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १०:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया