संसदमा विपक्षको भूमिकामा कांग्रेसको परीक्षा, सफल होला ?
फाइल तस्बिर

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्नेछ । गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियत दिएका थिए । तर, संसदको पहिलो बैठकमा प्रवेश नगर्दै ऊ एक्लिन पुगेको थियो, निर्वाचनअघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल माओवादी केन्द्र एमालेसँग गला मिलाउन पुगेको थियो ।

त्यसपछिको नयाँ समीकरणमा फेरि माओवादीलाई सरकारको नेतृत्व दिएर नेपाली कांग्रेस सहयोगीको भूमिकामा सीमित रह्यो । हालैको आकस्मिक हलचलपछि फेरि ऊ सत्ता बाहिर परेको छ । त्यसैले आज बस्ने प्रतिनिधि सभा बैठकमा संसद सचिवालयले नेपाली कांग्रेसका लागि विपक्षी लहरमा आसनको प्रबन्ध गरेको छ । 

संसदीय राजनीतिमा जेठो दल मानिन्छ नेपाली कांग्रेस । २०१५ सालमा सम्पन्न संसदको पहिलो निर्वाचनपछिको पहिलो सभामुख नेपाली कांग्रेसका संस्थापक नेतामध्येका कृष्ण प्रसाद भट्टराई थिए । त्यसपछि २०४८ को संसदीय निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेता दमननाथ ढुंगाना सभामुखको जिम्मेवारीमा आएका थिए । त्यसपछि पनि नेपाली कांग्रेसका नेताहरू तारानाथ रानाभाट र रामचन्द्र पौडेलले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । 

त्यसपछि एमालेका नेता सुवास नेम्वाङ र माओवादीका ओनसरी घर्ती तथा अग्नि सापकोटा हुँदै अहिले एमालेका नेता देवराज घिमिरेले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् । नेपाली कांग्रेसले वामपन्थी दलहरूबीच सत्ता गठबन्धन बनिसकेपछि आफू जिम्मेवार प्रतिपक्षमा रहने बताएको छ । पछिल्लो निर्वाचन पछिको प्रतिनिधि सभामा प्रतिपक्षको उपस्थिति नै अनुभव नभएको भनेर सर्वत्र आलोचना भइरहेको थियो । एमालेसहितका गठबन्धन बाहिरका दलहरूले पनि संसदको महत्वपूर्ण पक्ष विपक्षको उपस्थिति दर्साउने गरी भूमिका निर्वाह नसकेका भनी टीकाटिप्पणी पनि हुने गरेका थिए ।

अब नेपाली कांग्रेस त्यो स्थानमा आइपुगेको छ । संसदीय व्यवस्थाको पक्षपाती मानिने उसले अब संसदमा विपक्षको भूमिका कस्तो हुने छ भनेर व्यवहारमा सिद्ध गर्नु पर्नेछ । प्रतिनिधिसभाको आज बस्ने बैठकको आसन व्यवस्थापनमा नयाँ गठबन्धनका आधारमा दलहरू बस्नेछन् । संसद् सचिवालयका अनुसार दलहरूसँगको परामर्शपछि सिट व्यवस्थापन गरेको छ । 

सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, आम जनता पार्टी रहने छन् भने मुख्य प्रतिपक्ष नेपाली कांग्रेस र अन्य प्रतिपक्षी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा बस्नेछन् ।



सत्ता गठबन्धनको दौडधूपले गर्दा संसदले प्रि–बजेटबारे छलफल गर्न पाएको छैन । अब नयाँ गठबन्धन सरकार बनिसकेकाले त्यसमा प्रवेश हुनेछ । अरू विषय नहुँदा संसदको कार्यसूचीमा राखिने विषयमा पनि समस्या परेको सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । कार्यसूचीमा राख्ने अरू विषय नभएकाले आजपछि बस्ने बैठक सात दिनपछि ३० फागुनसम्म सारिएको छ । 

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले १४ फागुनमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको अवरुद्ध भएको छलफल पुनः सुरु गर्नका लागि सभामुखले प्रधानमन्त्रीसँग परामर्श गरेर छलफल गर्ने मिति तय गर्नेछन् ।



माओवादी नेता वर्षमान पुन अर्थमन्त्रीको जिम्मेवारीमा आएकाले निवर्तमान अर्थमन्त्रीले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने वा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने विषयमा भन्ने कुरा नयाँ गठबन्धनको निर्णयमा निर्भर रहनेछ ।

  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ११:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया