पहिलोभन्दा दोस्रो कार्यकाल चुनौतीपूर्ण देखेको छु : सञ्चारमन्त्री शर्मा

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रमको आवश्यकता रहेको उल्लेख गरेकी छिन् । उनले सेवा प्रवाह र जिम्मेवारी पूरा गर्ने हिसाबले दोस्रो कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहालको अपेक्षा अनुसार आफू खरो उत्रिनुपर्ने चुनौती रहेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै उनले पहिलो कार्यकालमा मन्त्रालय मातहतका निकाय र कर्मचारीले गरेको सहयोगको प्रशंसा गरिन । उनले पहिलो कार्यकालमा धेरै काम गरिसकेको र यो कार्यकालमा पहिलाको कानुनी कामकारबाहीलाई निरन्तरता दिएर पूरा गर्नुपर्नेमा जोड दिइन् । 

‘पहिलो कार्यकालमा हामीले यहाँका समस्या उत्खनन गरेका छौँ । अब हामीले पुनर्निर्माण गर्नुपर्ने समय छ । हिजोसम्मका जति पनि कानुनी कुराहरू हामीले अगाडि बढाएका छौँ, यहाँ देखिएका र देखिन सकिने अनियमितताका विषयहरूमा आवश्यक छानबिन गरेर एउटा धारण स्पष्ट पारेका छौँ । सबै कुराको समाधान गर्ने गरी कसरी अगाडि जाने भन्ने विषयमा बढी ध्यान केन्द्रित गरेर काम गर्नुपर्छ’ मन्त्री शर्माले भनिन् । 

शर्माले आफूलाई प्रधानमन्त्री दाहालले विश्वास गरेर पुनः सोही मन्त्रालयमा दोस्रो पटक पठाएकाले दबाब महसुस गरेको भन्दै जिम्मेवारी पूरा गर्ने क्रममा दाहालको विश्वासमा खरो उत्रिनुपर्ने दबाब महसुस गरेको धारणा राखिन् । 

उनले भनिन्, ‘हामी कसैलाई पनि छुट छैन । अघिल्लो कार्यकाल भन्दा मैले अहिले च्यालेञ्ज महसुस गरेको छु । जिम्मेवारी पूरा गर्नबाट कोही कसैले छुट पाउँदैन, प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, यसलाई सबै मिलेर पूरा गर्नुपर्छ ।’

सञ्चार मन्त्रालयमा दोहोरिएकी मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा ब्यान्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेकी थिइन् ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ११:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया