इलाम २ उपनिर्वाचन : एमाले उम्मेदवार बन्न के छ मापदण्ड ?

केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो १५ वैशाखमा हुन लागेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । 

उपनिर्वाचनका लागि एमालेले ५ चैतसम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ । जिल्ला सचिवालयको बुधबारको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे तथा दीपकिशोर लिङ्देन रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले आउँदो ३ चैतसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । ‘उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्नेछन्,’ सचिव गुरुङले भने, ‘त्यसपछि चैत ३ सम्ममा कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ, चैत ५ मा जिल्ला कमिटीले केन्द्रमा उम्मेदवार सिफारिस गर्नेछ ।’

उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि) मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ ।

यसअघिका निर्वाचनमा पालिका र क्षेत्रीय समन्वय कमिटीमा समन्वय गरेपछि मात्रै जिल्लाबाट उम्मेदवार सिफारिस हुने गरेकामा अहिले भने जिल्ला कमिटीले सोझै तीन जनाको नाम सिफारिस गर्ने अपानि रहेको सचिव गुरुङले बताए ।



इलाम २ मा एमालेबाट दिवंगत नेता सुवासचन्द्र नेम्बाङका स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गरेका बुद्धीप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवं विश्लेषक डा. देवी क्षेत्री दुलाल, नेम्बाङका छोरा सुहाङ नेम्बाङलगायत उम्मेदवारका आकांक्षी छन् ।

इलाम २ क्षेत्रीय समन्वय कमिटी संयोजकसमेत रहेका खनालले उपनिर्वाचनका लागि आकांक्षीको उचित व्यवस्थापन र सम्मान हुनेगरी पार्टीको विधि, विधान र योग्यताका आधारमा उम्मेदवार चयन गरिने बताए ।



  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १२:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया