बालबालिकामा बढ्दै मोबाइलको लत, सिर्जनात्मक कार्य गराउन विज्ञको सुझाब

सात वर्षीया रीता खनाल स्कुल जान थालेको चार वर्ष भयो । तर, पनि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । रीताले स्कुल जानुभन्दा अगाडि मोबाइल पनि सँगै लैजाने ढिपी कसिरहन्छिन् । 

अनामनगर बस्दै आएकी उनलाई घरमा खाना, खाजा खुवाउँदा मोबाइल देखाएर मात्रै खुवाउनुपर्छ । मोबाइल नहेरी रीताले खाना, खाजा खानै मान्दिनन् । उनी अन्य बालिबालिकाझैँ बाहिर गएर खेल्न खासै मन गर्दिनन् । उनलाई मोबाइल, टिभी हेर्न दियो भने मात्र खुसी भएर घरभित्रै बसिरहन्छिन् ।

कक्षा दुईमा पढ्ने रियान्स खड्का पनि स्कुलको गृहकार्य गर्नुभन्दा पहिला धित मरुन्जेल मोबाइलमा गेमलगायत कार्टुन हेर्न सधैँ जिद्दी गर्छन् । स्कूल जानुअघि र स्कूलदेखि घर आइसकेपछि अघाउन्जेल मोबाइल हेरेर मात्रै गृहकार्य गर्ने उनको बानी नै परिसकेको छ । उसैगरी राति सुत्ने समयमा अनि खाना खाँदा मोबाइल फोन वा टिभी नहेरी हुन्न ।

पछिल्लो समय ‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, टिभी, ल्यापटप, ट्याबलगायत स्क्रिनमा हेर्ने लत बालबालिकामा बढ्दै गएको छ । यसले उनीहरूको सामाजिक, शैक्षिक र सञ्चारमा पनि असर पर्ने कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर–किशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् । 

डा. कार्कीका अनुसार लामो समयसम्म मोबाइललगायत स्क्रिन हेर्दा बालबालिकाको विकासमा चौतर्फी असर पर्न सक्छ । यस्तै, खानाको समय र सुत्ने समयमा मोबाइल चलाउने बानीले दिनचर्यामा नै खलल पुग्ने उनको भनाइ छ । 



बालमनोचिकित्सक तथा मनोविद्हरूका अनुसार अचेल धेरैजसो मोबाइल, टिभी, ल्यापटप, ट्याबलगायत स्क्रिनमा हेर्ने लत भएका बालबालिकामा ढिलो बोलेको वा बोली नफुटेको गुनासो गर्नेहरू अभिभावक बढ्न थालेका छन् । र, त्यसको कारणको रूपमा देखापरेको छ– मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत । यद्यपि यसबारेमा नेपालमा खासै अध्ययनहरू नभएकाले यकिनका साथ भन्न नसकिने उनीहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी सरकारको अमेरिकन पेडियाट्रिक एसोसिएसको गाइडलाइनअनुसार ६ वर्षभन्दा मुनिका बालबालिकालाई सकेसम्म मोबाइल चलाउन दिनुहुन्न । दुई वर्षभन्दा मुनिका बालबालिकालाई मोबाइल टिभी देखाउँदै नदेखाउने अर्थात् ‘जिरो स्क्रिन टाइम’ भनेर उल्लेख गरिएको छ ।



डा. कार्कीका अनुसार बालबालिकाले मोबाइल, टिभी, ट्याब, ल्यपटपमा समय बिताउने, तर घरबाहिर गरिने क्रियाकलाप नगर्नुलाई ‘स्क्रिन टाइम’ भनिन्छ । 
‘बालबालिकालाई सानैदेखि चौबीसै घण्टा मोबाइलमा झुन्डिन दिँदा उनीहरूले सामाजिक संवाद नै गर्न पाइरहेका छैनन् । संवाद गर्ने वातावरण नभईकन बालबालिकाले बोल्न सिक्दैनन्,’ डा. कार्कीले भने । मोबाइलले नर्सरी राइम्स वा एबिसिडी त सिकाउला, तर बोल्न वा संवाद गर्न नसिकाउने उनको भनाइ छ । 

डिजिटल प्रविधि मोबाइल, टिभीलगायतबाट सामाजिकीकरण र प्रविधिसम्बन्धी सिकाइका लागि सहयोग हुने भएकाले सही तरिकाले प्रयोग हुने वातावरण सिर्जना गर्न समेत डा. कार्कीको सुझाब छ । ‘कान्ति बाल अस्पतालमा रहँदा स्क्रिनको लत बसेको समस्या लिएर आएका कतिपय बालबालिकाका अभिभावकलाई मोबाइल चलाउने समय कम गर्न लगाउँदा त्यसले फाइदा पुगेको देखिएको छ,’ उनले भने, ‘त्यसैले बालबालिकालाई मोबाइल स्क्रिनदेखि जति टाढा राख्न सकियो, उति नै उनीहरूको सर्वांगीण विकासका लागि फाइदाजनक हुन्छ ।’ 

स्वास्थ्य मन्त्रालयको सुझाब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाब दिँदै आएको छ । हालसालै मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वांगीण विकासमा असर पर्ने जनाइएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा बालबालिकामा मोबाइलको लतबारे निम्न कुरा उल्लेख गरेको छ । 

–बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन् । अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ ।

–मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ ।

–आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनुहुँदैन ।

–मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् । त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ ।

–खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ ।

–मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ । उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन् । यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ ।

–सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।

–मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वांगीण विकासमा नै असर पुर्याउँछ ।

कसरी कम गर्ने ?

बालबालिकामा मोबाइलको लत लाग्न नदिन अभिभावकले विशेष ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । यसका साथै सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता मनोचिकित्सक औँल्याउँछन् । 

‘आफ्नो सजिलोको लागि बालबालिकालाई मोबाइल हेर्न दिनु भएन । मोबाइल स्क्रिनभन्दा बाहिरको वातावरणमा बालबालिकालाई घुलमिल हुन अभिभावकले सघाउनुपर्छ,’ डा. कार्की भन्छन् । 

डा. कार्कीका अनुसार ६ वर्षमुनिका बालबालिका मोबाइलमा भन्दा सिर्जनात्मक कुरामा रमाउँछन् । त्यसैले उनीहरूलाई सुरुवाती समयदेखि नै खुवाउँदा, खेल्दा, भुलाउँदा मोबाइल नदेखाएर सिर्जनात्मक कुराहरूमा भुलाउनुपर्छ । खाना खुवाउँदा मोबाइल नदेखाएर बालबालिकासँग कुरा गर्ने, जस्तैः कौशी, बगैँचामा लगेर खुवाउने खेलाउने गर्नुपर्ने उनी बताउँछन् ।

  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १९:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया