होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ ।

आफ्नै होस्टलमा बस्दै आएकी बिएससी नर्सिङ अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेको भिडियो सार्वजानिक भएको थियो । 

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले चासो व्यक्त गर्दै पीडित छात्राप्रति सहानुभूति व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् ।

छात्रामाथि अमानवीय व्यवहार भएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

होस्टलमा बस्ने छात्रासँग रेग्मीले चैत महिनाको शुल्क मागेको भिडियोमा देखिन्छ । अहिले चैतको पेश्की शुल्क दिन तत्काल आफू असमर्थ रहेको छात्राले बताएकी थिइन् ।

उनको कुराको बेवास्ता गर्दै रेग्मीले पुस्तक र कोठामा भएका कपडालगायत सामग्री फ्याँक्दै, गाली गर्दै उनीमाथि दुर्व्यवहार गरेकी थिइन् । त्यसक्रममा उनले हातपात समेत गर्दै पैसा दिन नसक्ने भए होस्टलबाट तत्कालै निस्कन पनि भनेकी थिइन् ।



होस्टलमा बस्ने अन्य छात्राहरूले रोक्न खोज्दाखोज्दै पनि ती छात्रामाथि रेग्मीले हातपात गर्ने र सामान फ्याँकिदिने गरेको भिडियोमा देखिन्छ ।

यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले छात्रामाथि भएको अमानवीय व्यवहारको निन्दा गरेको छ । 



समितिले दुर्व्यवहार गर्ने ती महिलामाथि कारबाही गरिनुपर्ने माग पनि गरेको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार छात्रामाथि दुर्व्यवहार गर्ने महिलालाई नियन्त्रणमा लिएर घटनाबारे बुझ्ने काम भइरहेको छ ।

घटनामा पीडित पक्षका तर्फबाट प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले दुर्व्यवहार आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।
 

  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार २१:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया