कांग्रेसलाई प्रधानमन्त्रीका प्रमुख दुई चुनौती : पार्टी एक बनाउनू, एमालेसँग मिलेर देखाउनू

बुधबार संसदमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रमुख रूपमा दुईवटा चुनौती दिए । उनले दिएको पहिलो चुनौती हो, कांग्रेसले आन्तरिक रूपमा एक भएर देखाओस् । 

निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले अहिले युद्धविराम नै गरेर आफूप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको उनको गुनासो थियो । ‘पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु,’ उनले भने, ‘साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।  

नेपाली कांग्रेसले बेला यही रोष्टममा उभिएर आफूलाई राजनेता घोषणा गरेको र त्यो संसदको रेकर्डमा सुरक्षित रहेको उनले बताए । छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको भन्दै उनले रोष व्यक्त गरे । 

उनले कांग्रेसलाई दिएको दोस्रो चुनौती हो, एमालेसँग मिलेर देखाउनू । प्रतिनिधिसभा बैठकमा कांग्रेस–एमाले मिले तपाईको हालत के हुन्छ ? भनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए । जवाफमा माओवादी प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन कांग्रेसलाई चुनौती दिएका हुन् । 

काँग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराउँदै उनले ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताए । 

उनले भने, ‘मेरो त कामना छ–तपाईहरु मिल्नुस् । सबै मिल्नुस । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिराख्छ ।’



प्रधानमन्त्री त्यतिमै रोकिएनन् । उनले अगाडि भने, ‘तपार्इंहरुलाई लागेको छ–प्रचण्ड त्यसो भनेर डराउँछ भनेर ? नेपाली कांग्रेसका नेता साथीहरुलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाइंहरु सबै मिलेर टाउको काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ?’ 

कुन राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र रहेको भन्दै उनले राजनीतिक रुपमा आफूलाई हित हुन्छ भन्ने देखियो भने गठबन्धन बन्ने र त्यस्तो लागेन भने त्यो गठबन्धन छोड्ने हो भने । 



पुरानो गठबन्धनलाई निरन्तरता दिनु भनेको ‘दिन काट्ने, काल पर्खने’जस्तो हुन लागेको उनले बताए । या त राजीनामा दिने या अर्को गठबन्धन बनाएर एकचोटि फेरि काम गर्न पहल गर्ने दुई विकल्पमध्ये दोस्रो विकल्प रोजेको उनले सुनाए । 

  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार २३:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया