वनमा लागेको डढेलो गाउँ पस्दा २० लाखभन्दा बढीको क्षति
फाइल तस्बिर

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ ।

बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपरान्ह गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।  

गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे वस्तीमा दिनभर समस्या भएको थियो । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए ।

गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् । 

सामुदायिक वनमा लागेको डढेलोले वनस्पति र जङ्गली जनावर नष्ट भइसकेको स्थानीय बासिन्दाले बताएका छन् ।  दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा रहेको सामुदायिक वनमा डढेलो लागिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा हिउँद लागेसँगै आगलागीको समस्या हुने जनाइएको छ । यस्तो समस्या हुन थालेपछि कतिपय स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । रासस





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ९:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया