इलाम-२ उपनिर्वाचनमा उठ्ने झलनाथको चाहना, बढाए शीर्ष नेतासँगको छलफल
फाइल तस्बिर

आउँदो १५ वैशाखमा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ । उनी स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने सम्भावनाको संकेत गरेका हुन् । 

आफू आफ्नो दलको मात्र नभइ सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको खनालले गृहजिल्लाका सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफल भइरहेको उनले उल्लेख गरेका छन् ।

सहमति जुटेमा खनाल सबै वामपन्थी दलका तर्फबाट उम्मेदवार बन्ने योजनामा छन् । उनले सञ्चारकर्मीसँग आफूलाई आफ्नै दल र अरू वामपन्थी दलका नेता तथा कार्यकर्ताले उम्मेदवार बन्न आग्रह गरिरहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो उम्मेदवारीबारे कुरा भइरहेको खनालले उल्लेख गरेका छन् ।

तीन दशकयता इलाम क्षेत्र नम्बर १ बाट पटकपटक विजयी बन्दै आएका खनाल २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । त्यसबेला एमालेबाट अलग्गिएका उनी एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतले पराजित थिए । बस्नेतले २५ हजार सात सय ५३ पाएका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी सम्मिलित गठबन्धन बनेको छ ।



गठबन्धनका दलले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्लाबेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् । गठबन्धनमा आबद्ध दल रास्वपाले भने उम्मेदवारी दिने जनाइसकेको छ । 

एमालेमा आकाङ्क्षीको लर्को 



नेकपा एमालेबाट इलाम–२ मा उम्मेदवार बन्न ६ आकांक्षी देखिएका छन् । उनीहरूले उम्मेदवार बन्ने इच्छासहित पार्टीमा निवेदन दिइसकेका छन् । निवेदन दिनेमा सुहाङ नेम्वाङ (सुवास नेम्वाङका छोरा), देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धि खनाललगायत छन् । 

आकांक्षीको नाम पार्टी जिल्ला कमिटीले केन्द्रमा पठाउने र १५ चैतभित्र पार्टीले एकजनाको नाम टुंगो लगाउने जनाइएको छ । इलाम–२ मा २०७९ सालको निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए ।

उनले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरे । नेम्वाङको गत २६ भदौमा निधन भएपछि अहिले इलाम क्षेत्र नम्बर २ खाली रहेको छ । 

  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ९:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया