चुनौतीको चाङमा नेपाली फुटबल : खेलाडीमा छैन उत्साह, डेब्यू गरेलगत्तै विदेश पलायन !
फाइल तस्बिर

नेपाली फुटबल टिमले आउँदो शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले विश्वकप र एसियन कप छनोटमा बहराइनसँग प्रतिस्पर्धा गर्नुअघि मलेसियाविरुद्ध मैत्रीपूर्ण म्याच खेल्न लागेको हो । त्यसका लागि नेपाली टिम मलेसिया प्रस्थान गरिसकेको छ ।

२३ सदस्यीय टिममा नयाँ खेलाडीको संख्या बढी छ । खेलाडीको विदेश पलायन र विविध कारणले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनिसले एकैपटक ६ खेलाडीलाई पहिलोपटक टिममा स्थान दिएका छन् ।

अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई, विशाल बस्नेत, रोहन कार्की र समीर तामाङले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् । टोलीमा किरण चेम्जोङ, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास र मनिष डाँगी अनुभवी खेलाडीको रूपमा छन् । 

रोहित चन्द, आयुष घलान, दीप कार्की, एरिक विष्ट, सुरजज्यू ठकुरीलगायत खेलाडी भने यसपटक टिममा छैनन् । रोहित आफ्नो बुबाको निधन भएका टिममा समावेश नहुँदा आयुष, दीप र एरिकले भने व्यक्तिगत कारण देखाउँदै खेल्न नचाहेको बताइएको छ ।

पछिल्लो समय खेलाडी अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेको केही समयमै विदेश पलायन भइरहेका छन् । उदाहरणको रूपमा दीपक सिंह ठकुरी, आशिष चौधरीलगायत युवा खेलाडीलाई लिन सकिन्छ । उनीहरूले राष्ट्रिय टिमका लागि खेलेको छोटो अवधिमै विदेश पलायनको बाटो रोजिसकेका छन् । स्वदेशमा भविष्य नदेखेपछि प्रायः नेपाली खेलाडीको गन्तव्य अस्ट्रेलिया बनिरहेको छ ।  

६ दिनको मात्र अभ्यास !



नेपाली टिम पर्याप्त तयारीबिना मलेसिया उडेको हो । प्रशिक्षक एनिसका अनुसार टोलीले एक साता पनि अभ्यास गर्न नपाएको हो । ६ दिन मात्र अभ्यास गरे पनि मलेसियाविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

‘६ दिनको छोटो समयको तयारी भयो, तर हामी कठिन विपक्षीसँग खेल्न मानसिक रुपमा तयार छौँ’, मलेसिया जानुअघि प्रशिक्षक एनिसले सञ्चारकर्मीसँग भनेका थिए, ‘हाम्रा लागि नयाँ खेलाडीसहितको युवा टिम खेल्ने अवसर छ ।’ 



मलेसियासँगको खेलले बहराइनविरुद्ध मैदान उत्रन सहज हुने उनी केही आशावादी छन् । नेपालले विश्वकप छनोटअन्तर्गत यही २१ र २६ मार्चमा बहराइनसँग खेल्दैछ ।

नेपालले बहराइनसँग घरेलु मैदानमै खेल्ने अवसर पाएको थियो । तर, दशरथ रंगशालाको स्तर विश्वकप छनोट खेल्नलायक नभएपछि नेपालले होम म्याच बहराइनमा खेल्न लागेको हो ।

नेपालले घरेलु मैदानमै विश्वकप छनोट खेल्न नपाएपछि समर्थकले सामाजिक सञ्जालमा एन्फा र राखेप्रति आक्रोश व्यक्त गरिरहेका छन् । प्रशिक्षक एनिसले पनि बहराइनसँगको खेल घरेलु मैदानमा खेल्न नपाउनु दुःखद क्षण भएको टिप्पणी गरेका छन् । 

  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १०:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया