पूर्वगाउँपालिका अध्यक्ष चौलागाईंसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
चङ्खेली गाउँपालिका कार्यालय, फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।  

आयोगले तत्कालीन अध्यक्ष चौलागाईं​विरुद्ध ५ लाख १५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यस्तै, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

त्यस्तै, मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेलगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध १४ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध १२ लाख ३६ हजार रुपैयाँ र सवइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध १ लाख ९१ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १५:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया