बाबुराम भट्टराई र माधव नेपाललाई कानुनी दायरामा ल्याउन कमल थापाको माग
सहकारी ठगीबारे दूधको दूध, पानीको पानी गर्न गृहमन्त्रीलाई चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विभिन्न मागसहित काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेको छ । 

पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित काठमाडौंमा दबाबमूलक कार्यक्रम गरेको हो ।

प्रदर्शनपछिको कोण सभामा अध्यक्ष थापाले राजनीतिक अस्थिरता र अराजकता नै गणतन्त्रको उपलब्धि हो भन्दै प्रश्न गरे । छोटो समयमा नै नेपालको राजनीतिमा धेरै घटना भएको भन्दै उनले गणतन्त्रका प्रमुख संवाहक प्रधानमन्त्रीलाई प्रश्न गरे । 

उनले भने, ‘हिजो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने नाटक भइरहेको थियो । १५ महिनाको बीचमा प्रधानमन्त्रीले तेस्रोपटक विश्वासको मत लिइराख्नुभएको छ । १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद्को पुनःगठन, ४३ जना मन्त्रीको नियुक्ति, यति छोटो समयमा यो सबै हुनु यही नै हो गणतन्त्रको महान् उपलब्धि ? म गणतन्त्रका प्रमुख संवाहक प्रधानमन्त्रीलाई सोध्न चाहन्छु । यही अस्थिरता र अराजकता नै गणतन्त्रको उपलब्धि हो ? म देउवा र केपी ओलीलाई सोध्न चाहन्छु ।’ 

यस्तै, उनले यो आन्दोलन कुनै पार्टी वा नेताको विरुद्धमा नभई १७ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था, सांसद र फोहोरी राजनीतिविरुद्ध भएको पनि बताए । 

उनले भने, ‘हाम्रो यो आन्दोलन कुनै पार्टी वा नेताका विरुद्धमा होइन र सरकारको विरुद्धमा पनि होइन । यो आन्दोलन देशको १७ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट सांसद र फोहोरी राजनीतिबाट देश र जनतालाई मुक्तिको लागि हो ।’ 



देश अभिभावकविहीन भएको भन्दै यसकारण छाडातन्त्र, मनपरीतन्त्र र सिन्डिकेट बनाएर राष्ट्रिय ढुकुटी रित्ताउने काम भइरहेको दाबी गरे । 

उनले नयाँ गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेले ललिता निवासमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललगायत अन्य घटनामा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।    



थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै सो आरोपलाई दूधको दूध, पानीको पानी गर्न चुनौती पनि दिए । आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गर्दै थापाले पारदर्शी र जनतालाई चित्त बुझ्नेगरी दूधको दूध, पानीको पानी पार्न चुनौती दिएका हुन् । 

  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १७:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया