अर्थमन्त्री पुन भन्छन्- ‘कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन’

अर्थमन्त्री वर्षमान पुनले नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका पुनले कुनै पनि अभियोग पुष्टि नभइ नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको टिप्पणीसमेत गरे । 

शुक्रबार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली कांग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो । संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुनेक्रम चलिरहने सामान्य प्रक्रिया भए पनि त्यसैलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए । 

उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रहसमेत गरे । 

‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन । किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन । र, राजनीतिक रूपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ,’ अर्थमन्त्री पुनले भने, ‘यदाकदा ममाथि पनि भएको छ । गृहमन्त्रीलाई आक्रमण हो, हेर्ने नजर चाहिँ अर्थमन्त्रीलाई हो भनिन्छ । त्यसो गर्नु हुँदैन । यो राजनीतिमा सामान्य परिवर्तन भइरहन्छ । समीकरण परिवर्तन भइराख्छ । जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक नै भूमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ । छिट्टै प्रमुख प्रतिपक्ष दलका नेता साथीहरूले संसदलाई सुचारु गर्ने, विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई सुचारु गर्नलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो अनुरोध छ ।’

उनले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको भूमिकामा उभ्याउनुपर्नेसमेत बताए । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १८:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया