गृहमन्त्री लामिछाने भन्छन्– ‘कांग्रेसलाई ९ मिनेट १८ सेकेन्ड पढाउने इच्छा छ’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् । शुक्रबार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै कांग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनासाथ सदनमा दिने बताएका हुन् । 

‘संसदमा विधेयक नै प्रस्तुत गर्न नदिने, कानुन नै बनाउन नदिने भने त के गर्न सकिन्छ र । जवाफ दिनका लागि तयार नै छु । जवाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन । कानुन बनाउने प्रक्रिया त रोक्नु भएन नि । कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने कुरा नेपाली कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पढाउँदैनौँ । कांग्रेसले आफैं पढोस् । हामीले सदन चल्न दियौँ । प्रश्न सोध्यौँ, प्रश्नको जवाफ चाहिन्छ भन्यौँ । हामीले आफ्नो काम गर्‍यौं,’ उपप्रधानमन्त्री लामिछानेले भने ।

संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेले सदनमा मौका पाउनबित्तिकै आफूमाथि उठेको प्रश्नसहित कांग्रेसलाई ९ मिनेट १८ सेकेण्ड पढाउने इच्छा रहेको पनि बताए ।   

‘अनुसन्धानमा कुनै प्रभाव हुन दिन्न । कसैसँग सम्झौता हुँदैन । सुशासनको कुरामा यो, ऊ, सानो माछा होस, भ्यागुतो होस् । त्यसमा कुनै पनि किसिमको कम्परमाइज हुँदैन । त्यस कारणले हामी त्यसमा लागि परेका छौँ । बाँकी मलाई विश्वास छ कांग्रेस जस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिनै छैन । र, के विषय उठाएको छ । त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो ? कसले गराएको हो, कहाँ छ, के छ ? त्यति कुरा चाहिँ एकपटक सदनमा मौका पाए भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ ९ मिनेट १८ सेकेन्डमा ।’   

उनले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्यान्डेटको शक्तिमा काम गरिरहने बताए । लामिछानेले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट सुरु गरिएको पनि बताए ।     



‘सुन तस्करीको विषयमा प्रतिपक्षमा हुँखेरीदेखि नै उठाएको विषय यहाँहरूलाई अवगत नै छ । यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ । बुझाएको प्रतिवेदनमा मेरो हात पर्नेबित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यस सम्बन्धी कुरा अगाडि बढेको छ । कहिँकतै कसैसँग कुनै कम्परमाइज हुँदैन । आयोगले दिएको प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ । जजसलाई उन्मुक्ति दिन खोजिएको छ । उन्मुक्ति दिनेहरूमाथि पनि कारबाही हुन्छ । उन्मुक्ति पाएकाहरूले केही समय रमाए होलान् । कोही रमाउन पाउँदैन । कोही छुट्दैन । कहीँ कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिनेछ । म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन । तर, मेरा लागि आजको दिन अन्तिम दिन हो  भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध भएर आएको छु,’ उपप्रधानमन्त्री लामिछानेले भने । 



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १९:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया