दादुरा-रुबेला खोप अभियान : हालसम्म कतिले लगाए खोप, पूरा होला सरकारको लक्ष्य ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान चलाइरहेको छ । मन्त्रालयका अनुसार हालसम्म ४६ लाख ३७ हजार ४५२ (८० प्रतिशत) बालबालिकाले खोप लगाएका छन् । 

यो अभियानमा दादुरा रोगको लागि उच्च जोखिम भएका तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइँदै आएको छ । 

खोप अभियान सुरु भएदेखि २८ फागुनसम्म प्राप्त भएको तथ्याङ्कअनुसार देशभरका ४६ लाख ३७ हजार ४५२ बालबालिकाले दादुरा–रुबेला खोप लगाइसकेका छन् । खोप लगाउन अझै केही दिन बाँकी रहँदा यो संख्यामा वृद्धि हुने परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । 

मन्त्रालयले ५१ जिल्लाका ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य राखेको थियो । सरकारले दादुराविरुद्धको पूर्ण खोप लगाएका बालबालिकालाई पुनः खोप लगाउने अभियान सुरु गरे पनि धेरै अभिभावकमा आफ्ना बालबालिकालाई पुनः दादुरा–रुबेलाविरुद्धको खोप लगाउने विषयमा अन्योलता रहेको पाइएको थियो । खोप पूरा गरेपछि फेरि किन खोप लगाउने र खोप दोहोर्याउँदा बच्चालाई हानि हुने डरले दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावक हच्किने गरेका स्वास्थ्यकर्मी बताउँछन् ।  

हाल सरकारले लगाइरहेको दादुरा–रुबेलाविरुद्धको खोप बुस्टर खोप भएकाले यसअघि पूर्ण खोप लगाएका बालबालिकाले पनि लगाउनुपर्ने बताउँछन्, डा. गौतम । ‘यसअघि पूर्ण खोप लगाएका बालबालिकाले किन खोप दोहोर्याउनुपर्ने भनेर धेरै अभिभावकको जिज्ञासा छ तर यो बुस्टर खोप हो । यसअघि पूर्ण खोप लगाएका बालबालिकामा पनि दादुरा संक्रमण भएकाले यो खोप अनिवार्य लगाउनुपर्छ,’ उनले भने । यसका साथै गौतमले यो खोप सुरक्षित र प्रभावकारी रहेको र यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने जानकारी दिए । 

यस्तै, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार पछिल्लो समय धेरै जिल्लामा दादुरा संक्रमण बढ्दै गएको हुँदा योपटक सबैले खोप लगाउन छुटाउन हुँदैन । ‘दादुराको एक संक्रमितबाट १८ जनामा सर्ने जोखिम हुन्छ । पछिल्लो समय हाम्रोमा दादुरा संक्रमण अलि बढी देखिँदै पनि गएको छ । त्यसैले योपटक जोखिम क्षेत्रअनुसार सरकारले तोकेको उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाउनुपर्छ,’ डा. कर्णले भने । 



सरकारले दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी फागुन १३ देखि चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि लगाइसकिएको डा. अभियान गौतमले जानकारी दिए । 

उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रूघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको बताए । दादुरा–रुबेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 



खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा उपलब्ध छ । खोप अभियानका लागि देशभर ४८ हजार ७९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालित छन् । सरकारले सन् २०१८ मा दादुरा–रुबेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको डा. गौतमले जनाए ।

विश्वभर बढ्यो जोखिम 

कोभिड महामारीको समयमा गरिएका लकडाउनका कारण नियमित खोप अभियान संसारैभरि प्रभावित भएका थिए । त्यसमा मिजल्स, रुबेला एमएमआर भनिने नियमित खोपको अभियान पनि प्रभावित हुन पुग्दा विशेषतः बालबालिकामा दादुराको जोखिम बढ्दै जाने अनुमान गरिएको थियो । त्यसपछि सन् २०२३ को अन्त्यतिर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दियो ।

सीडीसीले दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको जनाएको छ । युरोपमा दादुराको सङ्क्रमण उच्चस्तरमा बढेको डब्लुएचओले जनाएको थियो ।  

विश्वमा सङ्क्रमण बढ्दै गर्दा नेपालमा पनि जोखिम बढेको पाइएको छ । ‘हाम्रो लक्ष्य भनेको १ सय प्रतिशत नै खोप कभरेज पुर्‍याउनु रहेको छ । त्यसका निम्ति विगतमा छुटेकाहरूलाई पनि सोधीखोजी गरेर यो खोप लगाउने अभियान सञ्चालन भइरहेको छ,’ डा‍. गौतमले भने । हालसम्मको खोप अभियानको नतिजा हेर्दा उत्साहजनक नै रहेको उनको भनाइ छ ।    

खोप अभियान चलाएर विगतमा छुटेकाहरूलाई समेट्ने र पहिले खोप लगाइसकेकाले पनि फेरि लगाउन पाउने गरी थप सुरक्षित बनाउन खोजिएको डा. गौतमले जानकारी दिए । 

  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार २०:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया