जमानासँगै सङ्गीत पनि निखारिँदै छ, अझै २० वर्ष लोक गीत गाउँछु : विमलराज क्षेत्री
प्रविधिको विकासले गीत सङ्गीतको क्षेत्र जादुगर जस्तो भइदियो

‘जापान टोकियो... मैले चिठी पठाकै थिएँ कता रोकियो...’ देखि ‘तिमीले दिएको बुट्टे रुमाल सम्झना... हेरि रहौँ हेरि रहौँ लाग्यो...’ लगायतका चार सय भन्दा बढी गीतमा स्वर भरिसकेका विगत दुई दशकदेखि लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक हुन् गायक विमलराज क्षेत्री । 

२०५६ सालबाट गायन यात्रामा आएका क्षेत्रीले लोक दोहोरी क्षेत्रमा स्थापित हुन निकै सङ्घर्ष गरे । पछि उनले गाएको ‘बल्लै भो भेट...’ शब्दको दोहोरी गीतले चर्चाको शिखर नै चुम्यो । त्यसपछि जीवनमा कहिले पनि पछाडि फर्केर हेर्नु नपरेको सुनाउँछन् क्षेत्री । नेपालमा प्रविधिको  विकाससँगै नेपाली लोकदोहोरी सङ्गीतको समेत उन्नति भइरहेको संगीतसाधक क्षेत्रीले सुनाए । 

उनी भन्छन्, ‘भित्रिएको डिजिटल प्रविधिले र सामाजिक सञ्जालसँगै नेपाली गीत सङ्गीत र नेपाली लोक दोहोरी क्षेत्रको पनि विकास भएको छ । ठूलो उतारचढाव आएको छ र प्रभाव पारेको छ ।’

पहिले कुनै समुदायको गीत सुन्न चक्का किन्नुपर्ने र त्यो चक्का पनि जहाँसुकै नपाईने अवस्थामा थियो,अहिले गीत सङ्गीतको बजारीकरणमा सूचना प्रविधिको विकासले टेवा पुगेको अनुभव क्षेत्रीको सुनाए ।

क्षेत्रीले भने, ‘मूलतः गीतसंगीतको धार पुरानै हो । सङ्गीत क्षेत्रमा पुराना संगीतकारले पनि नयाँ धारबाट गीत बजारमा ल्याउन लागेका छन् । जस्तो मेरो ‘फुलबुट्टे रुमाल...’ त्यो पुरानै गीत भए पनि यसलाई नयाँ शैलीमा फेरि ल्याएको छु । नयाँ जमानासँगै सङ्गीत पनि निखारिँदै आएको छ ।’

सामाजिक सञ्जाल र प्रविधिका कारण पहिलेको भन्दा नेपाली गीतहरूको व्यवसायीकरण समेत सजिलो भएको क्षेत्री बताउँछन् । 



‘पहिलेको तुलनामा गीतसंगीतको व्यवसाय गर्न सजिलो छ भने नयाँ प्रतिभा उत्पादन गर्न पनि सहज हुँदै गएको छ । नयाँ प्रतिभा प्रस्फुटन गर्ने विभिन्न प्लेटफर्महरु पनि आएका छन् । सबैको हातमा मिडिया छ । हरेक मान्छे सम्पादक भएका छन् । आफ्नो फेसबुक सबैको हातमा छ । कलाकारसँग प्रतिभा छ भने आफैँ मिडिया भइहाल्यो नि’ क्षेत्रीले भने ।

पहिले औँलामा गन्न सकिने कलाकारको भिडमा स्थापित हुनुपर्ने अवस्थामा स्थिति रहेकोमा अब धेरै दर्शकको भिडमा स्थापित हुनुपर्ने चुनौती थपिएको क्षेत्रीको बुझाइ छ । क्षेत्रीले भने, ‘कलाकारिता क्षेत्रमा आउन जति सजिलो छ, उत्कृष्ट कला चलाउन पनि त्यत्तिकै सजिलो छ । पछिल्लो समय गीतसंगीत क्षेत्र कस्तो भइदियो भने जादुगर जस्तो क्या । मेला महोत्सवमा कुनै कलाकार गयो भने कुनै बेला जताततै माग हुने, व्यावसायिक हिसाबले पनि राम्रो हुने त्यसपछाडि गायब भइदिने खालको सङ्गीत पनि छ । तर, व्यावसायिक हिसाबले गज्जब राम्रो भएको छ । हिजो डिजिटलले खाइदिने, कम्पनी खाएर भागिदिने हुन्थ्यो । अहिले जति आउँछ आफ्नै नाममा आउँछ ।’



प्रविधिको विकाससँगै सङ्गीतको उपलब्धता पनि सजिलो भएको क्षेत्रीको भनाइ छ । संगीतसँगै लोकदोहोरी क्षेत्रमा व्याकरणको बिकास हुँदै गइरहेकाले शब्द संकलनमा समेत सजिलो भएको क्षेत्रीले बताए  । 

नेपाली बजारमा दुई थरीका कलाकार रहेको उल्लेख गर्दै क्षेत्रीले भने, ‘नेपालमा दुई थरिका कलाकार छन् । एकथरि संगीतमा साधना गर्छु, मेहेनत गरेर जीवन्त काम गर्छु भन्ने अठोट भएका छन् भने दर्शकले जति माया गरे पनि जस्तो आम्दानी रहे पनि गर्छु पनि भन्छन् । अर्कोथरि कस्तो छन् भने, होइन म त पहिला स्टेज पर्फम गर्छु । भाइरल हुन्छु । त्यसपछि एल्बम निकाल्छु र त्यो पनि भाइरल कसो नहोला भन्ने सोच्छन् । तर उनीहरूको संगीतप्रति समर्पण छैन ।’

मेला र महोत्सवहरुले समेत संगीतमा साधना गरेका उत्कृष्ट कलाकारहरूको अपमान गरेको बताउँदै क्षेत्रीले  महोत्सवलाई महोत्सवकै रूपमा बुझाउन आवश्यक रहेको बताए छ । 
जस कारण मेला महोत्सवमा आउने गीत प्रेमी दर्शकले सङ्गीतको प्यास मेट्न नपाउँदै फर्किने गरेको उनको बुझाई छ । 

उनले भने, ‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनु छ । ४० वर्षका क्षेत्रीलाई अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर पनि छ ।’

  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ७:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया