सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरू परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आज आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरू परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए । ‘सरकारका नीतिहरू आधारभूत रुपले परिवर्तन हुँदैनन् । संविधानअनुसारका विभिन्न कानुन बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानुन बनेका छन् । तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरू अघि बढ्छन्’, अर्थमन्त्री पुनले भने, ‘तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन् । फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ ।’

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे । ‘अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन् । यो गुनासो र युवाको आकाङ्क्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु’, अर्थमन्त्रीले भने, ‘आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ । कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गर्छौँ। जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ । सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ ।’

बैङ्कसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे । धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने  अर्थमन्त्रीले दोहोर्याए । पछिल्लो समय सबै क्षेत्रमा नकरात्मकता फैलिँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरे । 

‘बैङ्कहरुलाई नयाँ सुदखोर र साहुजी भन्न थालिएको छ । राजनीतिज्ञहरू भ्रष्टाचार गर्छन्, तस्कर गर्छन् भन्ने धारणा विकास हुँदै गएको छ । सबैले आफैले आफैंलाई गाली गर्ने र कोहि पनि ठीक छैन भन्ने भाष्य निर्माण गर्ने परिपाटी राम्रो होइन’, उनले भने, ‘उच्चभन्दा उच्च तहका मानिसलाई पनि छानबिन गरेर कारबाहीको प्रत्याभूति विद्यमान व्यवस्थाले गरेको छ । कोही पनि कानुनभन्दा माथि छैनन् । कोहीसँग नजिक भएकै कारणले उसलाई अपराधी भनेर आरोप लगाउनु हुँदैन । सबैलाई एकै ठाउँमा राखेर आरोप लगाउन हुँदैन तर प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ । म माथि प्रश्न उठेको भए  मैले पनि जवाफ दिनुपर्छ ।’ 

हरेक संस्था र निकाय किन यति धेरै भ्रष्ट हुँदै गएका छन् भनेर आम रुपमा उठिरहेका प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको मन्त्री पुनले बताए । सुशासन, आर्थिक समृद्धि, सामाजिक न्यायलाई वर्तमान सरकारले केन्द्रमा राखेको पनि बताए । ‘हामी को हौँ र जिम्मेवारी के हो भन्ने बोध गरेर अघिबढ्नुपर्ने बेला आएको छ । म अर्थमन्त्रीका रुपमा स्थायी जागिर खान आएको होइन । जति समय बस्छु, अर्थतन्त्र र समाजमा सकारात्मक आशा जाग्ने गरी काम गर्छु । आशाको सञ्चार गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो’, अर्थमन्त्री पुनले भने । 



अहिले अर्थतन्त्रमा शिथिलता देखिएपनि साह्रै कमजोर अवस्थामा भने नरहेको उनले भने । ‘सार्वजनिक वित्तको क्षेत्रमा केही काम गर्नुपर्नेछ । लक्ष्यअनुसार राजस्व सङ्कलन र विकास बजेट खर्चलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँछ ।  निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी करिब रु ४० अर्बको दायित्व हुँदो रहेछ । सरकारले त्यो दायित्व चाँडै भुक्तानी गर्नेछ । म आउने बित्तिकै करिब ३० अर्ब रुपैयाँ जति बजारमा जाने गरी निर्णय गरेको छु’, अर्थमन्त्री पुनले भने । लघुवित्त क्षेत्र र सहकारी क्षेत्रमा आएको समस्याका कारण पनि अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नर लाई मात्र दोष लगाउने नभई राष्ट्र बैंकको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने बताए । नेपालमा सबैभन्दा राम्रो व्यवस्थापन भएको क्षेत्रको रुपमा बैकिङ क्षेत्र चिनिने उल्लेख गर्दै अर्थमन्त्री पुनले अहिले कुनै पनि बैङ्क समस्यामा नरहेको स्पष्ट पारे । बजारमा अधिक तरलता हुँदा कसरी व्यवस्थापन गर्ने भनेर नियामक राष्ट्र बैङ्कले सोच्नुपर्ने पनि उनको भनाइ छ । 



  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १४:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया