सनातन धर्म सापेक्ष राष्ट्रको महत्व र आवश्यकता

नेपाल कहिल्यै पनि कसैको उप–निवेशमा नपरेको देश हो । कुनै प्रकारको साम्राज्यवादसँग नझुकेको देश हो । आफ्नो गौरवपूर्व इतिहासबाट सुसज्जित सभ्यता नै नेपालको मौलिक पहिचान हो। जीवनशैली र परम्पराका हिसाबले नेपाल विविधतापूर्ण देश हो । विविधतामा एकता पनि नेपालको अर्को अनुपम विशेषता हो । यति मात्रै नभएर नेपाल हिन्दू राष्ट्र भनेर चिनिएको छ । हिन्दू भन्नाले सनातन धर्म एवं सभ्यताको परम्परालाई बुझाउँछ । सनातन सभ्यता नेपाली पहिचान, स्वाभिमान एवं राष्ट्रियताको मेरुदण्ड हो । सनातन सभ्यताभित्र हिन्दू–बौद्ध तथा किराँत अनि नेपाली मुस्लिम परम्परासमेत समाविष्ट छ ।

सनातन धर्म मानव जीवनको सभ्यता हो । यो अखण्ड छ। अर्थात् सनातन कुनै सम्प्रदाय (Religion) हैन । धर्म र र रिलिजन वा सम्प्रदायमा ठूलो भिन्नता छ । धर्म सबै सम्प्रदायहरुको छाता हो । हरेक मानिसको शरीर – विज्ञानको संरचना एउटै छ । मान्छेको चेतना (मष्तिकीय) विज्ञान पनि एउटै छ । मानिसको शरीर विज्ञान, मनोविज्ञान र आत्मविज्ञानको समष्टी नै सनातन सभ्यता हो । त्यसैले सनातन सभ्यता समग्र मानव जातिको साझा सभ्यता हो ।

तर, अहिले प्रायोजित रूपमा सनातन सभ्यतामाथि प्रहार भइरहेको छ । मौलिक तथा राजनीतिक उपनिवेशको युग समाप्त भएपछि अहिले सांस्कृतिक तथा भाषिक साम्राज्यवादले टाउको उठाइरहेको छ । भाषा र संस्कृति कुनैपनि देश वा समाजका लागि सञ्जीवनी नै हो । जुन देश या समाजले आफ्नो मौलिक भाषा र संस्कृतिप्रति गौरव गर्न सक्दैन, त्यो देश एवं समाज विघटन हुन बेरै लाग्दैन । यसको अनेकौँ उदाहरणहरु छन् । ‘हामी निदाउँदा हाम्रो हातमा जग्गा जमिनको पूर्जा थियो, गोराहरुको हातमा बाइबल थियो, जब हामी ब्युझियौँ तब गोराहरुको हातमा जग्गाजमिन पुग्यो, हाम्रो हातमा बाइबल पर्यो’ अश्वेत नेता नेल्सन मण्डेलाको यो भनाइले सबै कुराहरुको उत्तर दिन्छ । फिलिपिन्सका जनता पहिला बौद्ध–हिन्दू थिए अहिले ८१ प्रतिशत जनता क्रिश्चियन छन् । उनीहरुको आफ्नो भाषाको लिपि पूर्णतः लोप भएको छ । मौलिक संस्कृति गायव भएको छ । हामी त्यहीं बाटोतर्फ उन्मुख छौँ ।

सनातन धर्म नेपाली राष्ट्रियता हो

राष्ट्र भनेको माटो या सीमा मात्रै हैन । जहाँ जनता हुन्छ त्यो नै राष्ट्र बन्छ । निर्जन ठाउँ राष्ट्र बन्न सक्दैन । जनताले राष्ट्र बनाउँछ । त्यो राष्ट्रमा बस्ने जनताको भाषा, संस्कृति, परम्परा एवं जीवनशैली नै त्यो देशको मौलिक पहिचान हुन्छ । संस्कृति त जनताको आत्मा हो अनि पहिरन पनि । जनताको मौलिक संस्कृति, मूल्य–मान्यता एवं जीवनशैली खोसिदिने हो भने त्यो देशको जनता निर्वस्त्र जस्तै बन्छ, आत्माहीन प्राणहीन एक निर्जीव जस्तै बन्छ । यही नै राष्ट्रियताको समाप्ति हो । संस्कृति गुमाएको जनता रस निकालिएको उखुको लाक्रो जस्तै हो। संस्कृति र माटो, हावा, पानी तथा प्रकृतिका बीचमा गहिरो सम्बन्ध हुन्छ । हामी त वनस्पति प्रकृतिप्रेमी छौँ । पीपल, तुल्सी, बेल, ऑप तथा जौलगायतका वनस्पतिको हामी पूजा गर्छाैं, तर कतिपय ठाउँ (देश)हरुमा यी वनस्पतिहरु पाइँदैनन् । यस्ता वनस्पतिसँग नेपालको मौलिक संस्कृति जोडिएको छ, राष्ट्रियतासँग अमेध सम्बन्ध छ । शरीर विज्ञान, मनोविज्ञान तथा आत्मविज्ञानसँग सम्बन्धित छ । तसर्थ यदि हाम्रो संस्कृति हामीले गुमायौं भने हाम्रो जीवन पद्धतिमै गम्भीर समस्या पैदा हुन्छ । हाम्रो अस्तित्व र स्वाभिमान संकटमा पर्छ ।

आर्थिक समृद्धि (समाजवाद) र सनातन धर्म



अहिले विश्व मानव समाज तनावग्रस्त छ । भौतिक विकासको सूचकांक बढेको देखिए पनि मानसिक सन्तुष्टिको अंक घटेको छ । मानिसहरु बेचैन छन् । अस्वच्छ प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धाले एक–आपसमा प्रतिशोध बढाएको छ । विश्व बन्धुत्व कमजोर भएको छ । जतिबेला पनि विश्व मानव समुदायमा विश्वयुद्धको सन्त्रास बढिरहेको छ । अरुसँगको कुरै छोडौँ आफ्नै बा, आमालाई माया गर्ने, सेवा गर्ने मन मानिससँगै कमजोर बन्दै गएको छ । आफ्नै सन्तानले आफ्नै बा, आमाको हत्या गरेको समाचार पढ्न हामी विवश छौँ । घर–घरमा झगडा छ, जीवनभरसँगै खुसीसाथ जीवन बिताउने प्रण गरेको दम्पतीका बीच केही वर्ष वा महिनामै कलह सुरु हुन्छ र सम्बन्ध दुःखद् विग्रहरमा परिणत हुन्छ ।

भौतिक सम्पन्नता या लाभका लागि सारा सम्बन्धहरु तोडिन्छन् । विग्रह हुन्छ, ईर्ष्या, प्रतिशोधको आगोमा मानिस जलिरहेका छन् । Forbs Health Research का अनुसार विश्वमा सबैभन्दा विकसित भनिएको देश अमेरिकामा करिवब सात करोड (२४ प्रतिशत) जनता कुनै न कुनै मानसिक समस्याले ग्रस्त छन् । विश्वभरिमा १९३ मिलियन अर्थात् १९ करोड ३० लाख मानिसहरु तनावसम्बन्धी समस्याले पीडित छन् । कोभिडपछि यो डाटा बढेर २४६ मिलियन अर्थात् २४ करोड ६० लाखमा बढोत्तरी भएको छ । कोभिडपछि Anxiety Disorders २९८ मिलियनबाट ३७६ मिलियन अर्थात् २९ करोड ६० लाखबाट बढेर ३७ करोड ६० लाखमा पुगेको छ । यो २५ प्रतिशतको बढोत्तरी हो । कोभिडबाट संसार मुक्त भएको पनि करिब ३ वर्ष भइसक्यो तर विश्व मानव समाजको तनाव तथा छटपटी बढोत्तरीमै छ । यो घट्ने अवस्थामा छैन । एउटा अर्को अध्ययन अनुसार अबको २० वर्षमा विश्वका आधा मानिसहरु तनाव Anxiety Depression बाट ग्रस्त हुने प्रक्षेपण भएको छ ।



यी विषय यहाँ उठाउनको अर्थ छ । अब विश्व मानव सभ्यताका लागि तनाव व्यवस्थापन सबैभन्दा जटिल चुनौती बनेको छ । यो चुनौतीलाई विज्ञान तथा प्रविधि जति नै विकसित भए पनि केही गर्न सकिरहेको छैन । वैज्ञानिक प्रविधिले देखिने घाउ (जस्तै चिरफार आदि) को उपचार केही हदमा गरेको छ । तर नदेखिने घाउको उपचार गर्न विज्ञानले सकेको छैन । कुनै पनि हाम्रो भूमि मानवीय चेतना विज्ञान, मनोविज्ञान तथा आत्मविज्ञानको क्षेत्रमा गहिरो सम्बन्ध राख्छ । तनावजन्य मानसिक समस्याको समाधान सनातन धर्मको ज्ञानभित्र पाइन्छ । हाम्रो सनातन धर्म र हाम्रो भूमि मानवीय चेतना विज्ञान, मनोविज्ञान तथा आत्मविज्ञानको क्षेत्रमा गहिरो सम्बन्ध राख्छ । 

नेपाल भौगोलिक रुपमा उच्च हिमाली पर्वतदेखि समथर तराई मैदानसम्म फैलिएको देश हो । यहाँको हावापानी, वातावरण तथा मौसम समशीतोष्ण नै छ । तराईका केही भूभाग अलि गर्मी भए पनि बस्नै नसक्ने छैन । हिमाली क्षेत्र पनि असामान्य चिसो छैन । नेपाल भूमि त्रिकालदर्शी ऋषि महर्षिहरुको तपोभूमि हो । पलेटी कसेर जहाँ पायो त्यहीँ बस्दैमा ध्यान लाग्दैन । सिद्धि प्राप्त हुँदैन । नेपालको डाँडा डाँडामा ब्रम्हाष्दीप ऊर्जा छ । नदीनालाको छेउ छाउमा उत्तिकै ऊर्जा छ । नदीहरुको संगम क्षेत्रमा झनै बढी ऊर्जा (औरा) छ । हामी तनावले छटपटिएका विश्वभरका मानिसहरुलाई आफ्नो चिन्ता, हीनता, तृष्णा एवं ईर्ष्याको भावलाई न्यूनीकरण गरेर या समाप्त नै गरेर आनन्दको जीवन बिताउन नेपाल आमन्त्रण गर्न सक्छौँ ।

डाँडाहरुमा, नदी किनार एवं संगमहरुमा सुविधाजनक खाने, बस्ने, योग–ध्यान गर्ने, नेपालका अति महत्वपूर्ण जडीबुटीजन्य खाने, पिउने परिकारहरु तयार गरेर उहाँहरुको जीवनलाई सुखमय बनाउन सक्छौँ । मानसिक शान्तिका लागि नेपाल जानुपर्छ भनेर हामीले दुनियाँलाई सन्देश दिन सक्छाँं । नेपाल त देवभूमि हो, ऋषि–महर्षिको भूमि हो । यो धर्म भूमिमा अर्धको अभ्यास गरेर हामीले हाम्रै सुख, आनन्द मात्र गुमाएका छैनौँ, विश्वका मानवहरुलाई नेपालको ब्रम्हाण्डीय ऊर्जाबाट मानसिक शान्ति दिलाउन परोपकार कर्मबाट पनि वञ्चित भइरहेका छौँ ।

नेपाली जनताको लागि नेपालभित्रै प्रशस्त्र रोजगारी सिर्जना गर्न सकिन्छ, अरुको उपकार वा सेवा गरेर आर्थिक लाभ लिन सकिन्छ । तर, हामी हाम्रो यो अपरिमित सम्भावनालाई भत्काइरहेका छौ, हाम्रो सभ्यता र परम्परालाई विनाश गर्ने प्रयत्न गरिरहेका छौँ ।

युरोप अमेरिकातिर वैभवशाली जीवन छ भन्ने भ्रममा हामी छौँ, भौतिक रुपमा वैभव उता छ, तर हामीले हाम्रो यो आध्यात्मिक पुँजीलाई भौतिक वैभवका रुपमा रुपान्तरण गर्न सक्छौँ । यस्तै आध्यात्मिक अभियान एवं कार्यक्रमका साथ नेपाललाई सनातन राष्ट्र घोषणा गरेर विश्वभरिका अशान्त एवं तनावग्रस्त मनहरुलाई शान्तिको श्वास फेर्ने र तनावबाट मुक्ति पाउने पवित्र ध्येयको रुपमा नेपाललाई विकसित गर्न सकेमा कोही विदेशिनुपर्दैन । आफ्नै देशभित्रको रोजगारी प्राप्त हुन्छ । नेपालीको समृद्धि हाम्रै सनातन धर्मको मानवोपयोगी अध्यात्म ज्ञानबाट प्राप्त हुन्छ । विश्वकै शान्त, समृद्ध र आनन्दको भूमि नेपाल बन्ने छ । यस्तो सनातन राष्ट्रको निर्माण हुँदा कसैप्रति विभेद हुँदैन । सबैको स्वाभिमान उच्च हुन्छ ।​

WHO को रिपोर्ट अनुसार विश्वमा प्रतिदिन ८ लाखभन्दा पनि बढी मानिसले आत्महत्या गर्छन् । अमेरिका जस्तो भौतिक रुपमा वैभवशाली देशका जनताले प्रतिदिन १२५ जनाले आत्महत्या गर्छन् । नेपालमा पनि २०१७–०१८ को दर्ता गरिएका घटनाअनुसार ६,८४० जनाले आत्महत्या गरेको रेकर्ड पाइन्छ । तर, दर्ता नगरिएका घटनाको संख्या पनि सायद योभन्दा कम नहोला ।

सनातन धर्म सबैको कल्याण चाहन्छ । सर्वे भवन्तु सुखिनः अर्थात् सबै सुखी रहुन् भन्ने मान्यता नै सनातन धर्म हो । वनस्पति, विश्वदेव, बद्ध तथा सबैतिर शान्ति नै शान्ति छाओस् भन्ने धर्म माथि किन यत्रो विद्वेष ? यसको अर्थ नेपाली जनता मिलेर बसेको, सद्भाव एवं बन्धुत्वपूर्ण सम्बन्धमा रहेर शान्तिपूर्वक बाँचेको मन नपरेको हो भन्ने बुझिन्छ । 

धर्म निरपेक्ष बनाउँदा कालो÷अध्याँरो कोठाबाट षड्यन्त्रपूर्वक घोषणा गरिएको थियो । धर्म निरपेक्षतालाई महान् उपलब्धि भयो भनेर प्रचार गरिरहेका छन् । तर, यो के कारणले महान उपलब्धि भयो भन्ने कुराको पुष्टि हुनुपर्छ कि पर्दैन ? धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि नेपालको विकास अथवा आर्थिक बृद्धिको सूचकांक कतिले बढ्यो ? कति जनताले रोजगारी पाए ? विदेश भासिने क्रम रोकिएको छ ? अब नेताको रुप धारण गरेर विदेशीको एजेन्ट बन्ने दलहरुको यो झुठो भाष्यलाई चिर्नैपर्छ । नत्र नेपाल भन्ने हाम्रो यो प्यारो देश बाँकी नै नरहने अवस्था आउँछ ।

  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १८:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया