पोखराका व्यवसायीले प्रधानमन्त्रीलाई राखे आठ बुँदे माग

पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पोखरा मुग्लिङ सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गराई पोखरा–सुनौली राजमार्गको स्तरोन्नति गर्न माग गरेको छ । 

पोखरालाई पर्यटकीय राजधानी सहरको रूपमा घोषणा गर्न आइतबार पोखरा पुगेका प्रधानमन्त्री दाहालसँग परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहितले भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न आठ बुँदे माग दाहालसामु राखेका छन् । 

पर्यटन बोर्डको पुनः संरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधा सहितको प्याकेज दिई प्रोत्साहन गर्नुपर्ने माग परिषद्ले राखेको छ । 

यस्तै, पोखरा–मुग्लिङ सडक खण्डको निर्माण कार्य समयमै सकी पोखरा–सुनौली राजमार्गको स्तरोन्नति गरिनुपर्ने, व्यावसायिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने तथा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, यथाशीघ्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा समेत स्थायी सोलो प्याराग्लाइडिङ उडान खुलाउने अनुमतिका लागि निर्देशन दिई सहजीकरण गरिनुपर्ने लगायतका विभिन्न मागहरू समावेश छन् । 

साथै, मुस्ताङ–डोल्पा, पोखरा–भिमाद–काबासोती, नारायणगढ.–बुटवल सडकको निर्माण सम्पन्न गरी पोखराबाट समदुरीमा रहेको त्रिवेणी कोरोला नाकालाई त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा प्रवर्द्धन गरी पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकसित गर्न माग गरेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बुझाएको माग पत्रमा उल्लेख छ । 

अर्थतन्त्रमा आएको शिथिलताका कारण पर्यटन व्यवसायमा पनि असर परेको,रोजगारी घटेको र बैंकको ऋण तिर्न नसक्दा मनोवैज्ञानिक त्रासमा आफूहरू रहेको उल्लेख गरेका व्यवसायीहरूले ६ खर्ब भन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखराको प्रतिनिधित्व नेपाल पर्यटन बोर्डमा हुनुपर्ने जोडदार माग राखेका छन् ।  





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १३:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया