कोशीमा दिनहुँजसो आगलागी : पाँच जनाको मृत्यु, दर्जनौं घर जले

केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए । आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् । 

आगलागीमा परी पाँचथर र झापामा एक/एक जनाको मृत्यु भएको छ । मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्धरूपमा आगलागीका घटना हुँदा धनमालको ठूलो क्षति भएको छ । 

पहाडी क्षेत्रमा वनमा लागेको डढेलो फैलँदै गाउँ वस्तीसम्म पुगेर स्थानीयको घर जलेका घटना छन् । यसैगरी, तराईका केही स्थानमा बिजुलीका कारण आगलागी भएको पाइएको छ । 

एकै दिन झण्डै दर्जन स्थानमा आगलागी भएको पाइएको छ । शनिबार र आइतबार दुई दिनमा कोशी प्रदेशका ४० भन्दा बढी आगलागीका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार फागुन लागेयता कोशी प्रदेशका विभिन्न जिल्लामा साना–ठूला गरी २ सय ५० भन्दा बढी आगलागीका घटना भएका छन् । ती घटनामा २ सयभन्दा बढी घर जलेको जनाइएको छ । ठूलो परिमाणमा धनमाल नष्ट भएको छ ।

प्रहरीले अहिले आगलागीका घटना बढिरहेको अवस्थामा सतर्कता अपनाउन आग्रह गरेको छ । आगलागी भइहाले नियन्त्रण र उद्धारका काममा परिचालन गर्ने टोली  तयार रहेको पनि प्रहरीले जनाएको छ । 



पीडित परिवारलाई राहत

मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेब टोलका अग्नि पीडितलाई राहत प्रदान गरिएको छ । औषधि व्यवसायीले पीडित परिवारलाई आइतबार खाद्यान्न लगायत राहत सामग्री प्रदान गरेका हुन् ।  



उक्त स्थानमा बिजुली सर्ट भइ आइतबार भएको आगलागीमा २० घर जलेका थिए । २८ परिवारका १ सय १८ जना विस्थापित भएका छन् । उनीहरू त्रिपाल टाँगेर बसेका छन् ।

अग्नि पीडितको जीवनयापन कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधि व्यवसायी राहत लिएर पुगेका हुन् । खाद्यान्न, झुल र स्कुल पढ्ने विद्यार्थीको लागि स्टेशनरी सामग्री वितरण गरेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । 

  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १३:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया