लगानी सम्मेलनका लागि आवश्यक गृहकार्य गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् । मंगलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएका हुन् । 

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भुमिका रहने बताए । 

लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई आह्वान गरे । निजी क्षेत्रका तीनओटा छाता संस्थाहरू— नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् । अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्न आवश्यक रहेको बताए । 

उनले अवैतनिक दुतहरूसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । उनले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरुले बढी चासो देखाइरहेकाले उनीहरुलाई पनि बैठकमा सहभागी गराइ उनीहरुको सुझाव लिन सकिने बताए । 

उनले भने, ‘यो हाम्रो विभिन्न मिसनहरु छ, त्यहाँ भर्चुअल मिटिङ राख्नुपर्छ । प्रधानमन्त्रीले नै गर्न खोज्नुभएको थियो । पछिल्लो स्थिति र सरकारका प्राथमिकताका बारेमा भर्चुुअल मिटिङको कुरा थियो । त्यससँगै जोडेर यसलाई हामीले पनि जोड्न सके झनै राम्रो हुन्थ्यो । यसमा हामी परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गर्छौं । त्यो आवश्यक पनि छ । मिसनहरु प्लस हामी अवैतनिक दूतहरूसँग पनि भर्चुअल बैठक बसेर र एनआरएनहरुले धेरै रुचि देखाइरहेको । निजी क्षेत्रले विश्वास र प्रीतवद्धता लियो भने बाहिरको लगानी आउने हो । हामीले नीतिगत रुपमा भिजन दिने र सहजीकरण गर्ने हो । एनआएनएलाई पनि बोलाएर छलफल गर्दा राम्रो हुन्छ, हामीलाई त लगानी कर्ता धेरै भन्दा धेरै नै चाहिएको छ ।’





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १०:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया