सवारी दुर्घटनामा पूर्व गाविसअध्यक्ष अर्यालको निधन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।  

मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज  अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी वेदबहादुर पौडेलले बताए । 

मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो । 

दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीकादेवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

उनीहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विसं २०५४ मा नेकपा (एमाले)को तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिकवान् व्यक्तिका रूपमा परिचित थिए । उनको कार्यकालमा देशभरको उत्कृष्ट गाविसका रूपमा नयाँ बेलाहानी गाविस सम्मानितसमेत भएको थियो । निर्णय प्रक्रिया, परादर्शिता, जनसहभागिता लगायत पक्षको मूल्यांकनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।  



लामो समयदेखि सामाजिक तथा रानीतिक कार्यमा क्रियाशील अर्याल हाल मानवअधिकार समूह मध्यविन्दुका अध्यक्ष थिए । उनी  एमालेको जिल्ला कमिटी सदस्य एवं मध्यविन्दु नगर सहइञ्चार्जको जिम्मेवारीमा रहेका थिए । 



  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार २२:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया