सरकार र पार्टीबीच समन्वयका लागि नेकपा एसले बनायो संयन्त्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ ।
    
महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ ।
 
मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको योगदानका आधारमा नाम सिफारिसका लागि निर्देशन दिएको बैठकले महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए । 

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको बैठकमा पार्टीको जनवर्गीय संगठन सुदृढीकरणबारे छलफल गरेको बैठकले महाधिवेशनका लागि विभिन्न कमिटीबाट गरेका तयारीबारे समीक्षा गरेको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ । 

साथै अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन गरिएको जनाइएको छ । महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार २२:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया