आयरल्याण्ड उल्भ्ससँग खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ-११
फाइल तस्बिर

एसिसी प्रिमियर कप र आइसिसी टी–२० विश्वकपको तयारी गरिरहेको नेपालले सोमबार आयरल्याण्ड उल्भ्ससँग खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो १ बजेदेखि कीर्तिपरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

दुवै टिम सिरिजको पहिलो खेल जित्दै अग्रता लिने सोचमा छन् । नेपाल पहिलोपटक आयरल्याण्ड उल्भ्ससँग खेल्न लागेको हो । नेपालले उसको सिनियर टिमसँग भने यसअघि नै तीन टी–२० आई खेलिसकेको छ, जसमा नेपाल सबै खेलमा पराजित भएको विगत छ । 

नेपाल आयरल्याण्ड उल्भ्ससँगको पहिलो भेटमै भने जित हात पार्दै लय समात्न चाहन्छ । नेपाली टिम पछिल्लो समय खराब लयमा छ । खराब प्रदर्शनकै कारण नेपालले केही दिनअघि हङकङमा भएको त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) सँग ८६ रनको लज्जास्पद हार बेहोरेको थियो । नेपाल सो हार बिर्सिँदै आयरल्याण्ड उल्भ्सविरुद्ध उत्कृष्ट कमब्याक गर्ने योजनामा छ । 

यद्यपि आयरल्याण्ड उल्भ्सविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन । आयरल्याण्डले सिनियर टिमबाट खेलिसकेका ९ खेलाडीलाई नेपालसँग खेल्ने ‘ए’ टिममा राखेको छ । त्यसकारण नेपाल र आयरल्याण्ड उल्भ्सबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । 



नेपाल पहिलो खेलमा बलियो प्लेइङ–११ का साथ मैदान उत्रने योजनामा छ । आयरल्याण्ड उल्भ्सविरुद्ध नेपालले ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखलाई नै निरन्तरता दिने सम्भावना छ ।

पछिल्लो समय ठूलो साझेदारी गर्न नसके पनि लयमा ल्याउन मुख्य प्रशिक्षक मोन्टी देसाई ओपनिङमा उनीहरूलाई नै प्रयोग गर्ने सम्भावना उच्च छ । 



यस्तै, तेस्रो नम्बरमा अनिल साहले मौका पाउन सक्छन् । प्रायः ओपनिङ गर्ने भएपनि उनले आयरल्याण्ड उल्भ्सविरुद्ध भने तेस्रो नम्बरमा मौका पाउने देखिन्छ ।

त्यस्तै, चौथोमा कप्तान रोहितकुमार पौडेल, पाँचौंमा सन्दीप जोरा, छैटौँमा कुशल मल्ल, सातौँमा दीपेन्द्र सिंह ऐरी, आठौँमा सोमपाल कामी, नवौँमा प्रतिश जिसी, दशौँमा करण केसी र ११औँ नम्बरमा ललितनारायण राजवंशीले मौका पाउन सक्छन् ।

पहिलो खेलमा विवेक यादव, गुलशन झा, अविनाश बोहरा र आकाश चन्दले भने मौका पाउने सम्भावना कम छ । 

  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ७:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया