उपनिर्वाचनकाे उम्मेदवारीका विषयमा एमाले र एसबीच खटपट, प्रचण्डलाई सन्तुलन मिलाउनै मुस्किल

इलाम र बझाङमा हुन लागेकाे उपनिर्वाचनमा कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने विषयमा सत्तारुढ तीन दलभित्र खटपटकाे अवस्था सिर्जना भएकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा छलफलका लागि बालुवाटारमा तीन दलकाे बैठक राखेका थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । इलाम र बझाङ दुवै ठाउँमा माओवादी र समाजवादीकाे भन्दा एमालेकाे जित्ने अवस्था रहेकाे र उम्मेदवार पनि उठाइसकेको भन्दै ओलीले प्रचण्ड र नेपाललाई सहयाेगका लागि आग्रह गरेका थिए । 

ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताए पनि अध्यक्ष नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीकाे उम्मेदवारलाई सघाउनुपर्ने अडान राखेका थिए ।

माधवकाे उक्त प्रस्तावपछि ओलीले एमालेले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताए । त्यसपछि नेपालले माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन प्रचण्डलाई आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिढ्याउने पक्षमा छन् । एकीकृत समाजवादी चिढिएमा उसले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन प्रचण्ड सचेत देखिन्छन् । त्यसैले नेपालले राखेकाे प्रस्तावकाे जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिएका थिए । 

यदि एकीकृत समाजवादी र जसपा दुवैले समर्थन फिर्ता गरे प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यस्तो अवस्थामा संविधानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित छ । त्यस कारण पनि  प्रचण्ड हालकाे सत्ता गठबन्धनदलबीच कुनै पनि हालतमा सहमति गराउने तयारीमा छन् । 



यता, अध्यक्ष नेपालले भने बालुवाटार बैठकलगत्तै सोमबार काभ्रेको बनेपा पुगेर आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको स्थानीय नेता कार्यकर्तालाई बताएका छन् ।

बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए ।



उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल भइरहेको भन्दै बझाङमा उम्मेदवार खडा गर्न पार्टीलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । 

  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १६:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया