सरकारलाई सांसदहरूको सुझाव : कृषि नीति बदलौँ, अनुदान दुरुपयोग गर्नेलाई दण्डित गरौँ

प्रतिनिधि सभाका सांसदहरूले कृषि नीति परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कृषि क्षेत्रले एक लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट ल्याउन पनि सरकारसँग माग गरे । 

कृषि मन्त्री ज्वालाकुमारी साहले सोमवार सिंहदरबारमा आयोजना गरेको सांसदसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषि अनुदान लिने गैर किसानहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिइन् । वास्तविक किसानले कृषि क्षेत्रका लागि राहत नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले अनुदानलगायतका सहायता लिने गैर किसानहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको सांसद पौडेलले बताए । उनले सरकारले वास्तविक किसानहरूको समस्या बुझ्न नसकेको पनि औँल्याए । 

सांसद पौडेलले भने, ‘कृषिको लोन लगेर जसले कृषि गरेनन्, त्यसलाई दण्डित गरौँ । र कृषिमा काम गर्ने, जसले उत्पादन गरेको छ । जसले साँच्चै कृषक भएर काम गरेको छ । जसलाई सहयोगको आवश्यकता छ । त्यसलाई अनुदान दिने प्रबन्ध गरौँ । सरकारले घोषणा गरेको छ नि प्राइभेट बैङ्कहरूले सर्टेन पैसा कृषिमा लगानी गर्नुपर्ने ? त्यो गरेको छ । सरकारले यसमा अनुगमन गरेको छ कतै ? सरकारले कृषिमा लोन दिने भनेर कति पटक घोषणा गर्‍यो । निर्ब्याजी लोन दिने कुरा कुन कृषकले प्राप्त गरेको छ ? गैर कृषकले कृषक भनेर त्यो सबै सुविधा लिएको छ । त्यस कारण यहाँबाट सुरु गर्न जरुरी छ । हामीले कृषक भनेको अन्नदाता हो । अथवा जीवनदाता हो । यो भाष्य हामीले नेपाली समाजमा निर्माण गर्न सकेका छौँ ? सरकारको नीतिले सम्बोधन गर्यो भने यो भाष्य निर्माण हुनसक्छ । कृषिका वास्तविक समस्यालाई सरकारले बुझ्न सकेको जस्तो लाग्दैन । अव कृषिको समस्या बुझे हो भने लम्पी स्किनको पीडामा धेरै किसानहरू परे । राज्यले केही सहयोग गर्‍यो ? कृषि बीमाको नीति ल्याइएको छ । वास्तविक किसानले त्यो बीमाबाट राहत पाउन सकेको स्थिति छ ? कृषि क्षेत्रका सबै बस्तुले बीमा पाउने सुविधा हुनुपर्छ । कृषि क्षेत्रले आगामी आर्थिक वर्षमा १ लाखले रोजगारी पाउने गरी नीति ल्याउनु पर्छ । हाम्रो साथ रहन्छ ।’

कृषिमा उत्पादित वस्तुहरुलाई ठूला सहरहरूमा बजारीकरण गर्ने व्यवस्था सरकारले गर्नुपर्ने पनि सांसदहरूले औँल्याएका छन् । नेकपा एमालेकी सांसद विद्या भट्टराईले महानगरपालिका र उपमहानगरपालिका जस्ता ठूला सहरहरूमा किसानहरूको उत्पादनको बजारीकरणका लागि आवश्यक नीति बनाउन सरकारसँग आग्रह गरिन् । गाउँ र सहर जोडेर देशको विकास पनि पनि सरकारले यो नीति बनाउन ढिलाइ गर्न नहुने बताइन् । सांसद भट्टराईले कृषि प्रवर्द्धन ऐन ल्याउन ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिइन् । उनले सरकारले किसानहरूलाई दीक्षित गर्नका लागि अध्ययन भ्रमणको आवश्यक व्यवस्था गर्नुपर्ने पनि बताइन् । 

सांसद भट्टराईले भनिन्, ‘किसानलाई प्रोत्साहित गर्नु पर्‍यो । हामी अनुदान दिन सक्छौ भने वास्तविक किसानले त्यो अनुदान पाउनुपर्‍यो । जसको समस्या छ, त्यो सम्बोधन हुने गरी हामीले व्यवस्था गर्न सक्नुपर्‍यो । कृषि ऐन भनेर कहिलेकाहीँ मन्त्रीज्युहरुले बोल्नुहुन्छ । कृषि प्रवर्द्धन ऐन भनेर पनि चर्चामा आयो । आज कहाँ पुगेको छ ? हामी साँच्चै कृषि ऐन बनाउँदै छौ कि आश्वासन मात्रै हो ? सरकारले आत्मनिर्भर हुने क्षेत्रहरुको पहिचान गरेर सकारात्मक सन्देश पनि दिन सक्नुपर्छ । जुन सन्देशले मान्छेलाई काममा लाग्नका लागि प्रोत्साहित गर्छ । कृषिबाट उत्पादित बस्तुलाई ठूलो सहरहरूमा बजारीकरण गर्ने पोलिसी बनाउनु पर्छ । वास्तविक किसानहरूले नलेज कहाँबाट लिने ? कृषि विज्ञहरुलाई हामी विदेश पठाउँछौँ । किसानहरूलाई भ्रमण गर्ने अवसर दिइयो भने त्यसले यस क्षेत्रको विकासमा सहयोग पुग्दछ । हामीले नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्ने भनेको छौ । त्यसको पुनर्संरचना गर्न सकिएन भने कृषि पेसालाई हामीले राज्यसँग जोडन सक्दैनौँ । यसतर्फ पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद रेखा यादवले किसानलाई आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । जनता समाजवादी पार्टी, नेपालकी सांसद उनले नेपालमा उत्पादित सुपारी तस्करको हातमा जाने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराइन् । सांसद यादवले स्वदेशमा उत्पादित कृषि उपजहरूको बिक्री वितरणका लागि सरकारले बजारीकरणको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताइन् । 



उनले भनिन्,  ‘मल चाहियो भन्दा पनि नपाउने अवस्था छ । त्यसको व्यवस्था हुनुपर्‍यो । सुपारी किसानको समस्या राज्यले सम्बोधन गर्नुपर्छ । बजार व्यवस्थापनको पनि कुरा आएको छ । सबै तस्करी भइराखेको अवस्था छ । सरकारले यसको बजार व्यवस्थापन गर्नुपर्छ ।’

कार्यक्रममा अन्य सांसदहरूले सरकारले किसानलाई प्रोत्साहित हुने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।  



  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १७:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया