आइपिएल २०२४ मा बेंगलुरुको पहिलो जित, विराट कोहलीको उत्कृष्ट ब्याटिङ

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्नेक्रममा उसले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हरायो । बेंगलुरु पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो ।  

आफ्नो दोस्रो खेलमा पञ्जाबले दिएको १ सय ७७ रनको लक्ष्य १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि विराट कोहलीले उत्कृष्ट पारी खेले । ४९ बलको सामना गरेका उनले ११ चौका र दुई छक्कासहित ७७ रन बनाए । कोहली प्लेयर अफ द म्याच घोषित भए । 

यस्तै, दिनेश कार्तिकले १० बलमा तीन चौका र दुई छक्कासहित २८ रनको आक्रामक इनिङ खेले । रजित पाटिदार १८ रनमा आउट हुँदा महिपाल लोमर १७ रनमा अविजित रहे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पञ्जाबका लागि कागिसो रबाडा र हरप्रीत ब्रारले दुई/दुई, साम करन तथा हर्षल पटेलले एक/एक विकेट लिए । 

त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि कप्तान शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५, साम करनले २३, शशांक सिंहले अविजित २१ र लियाम लिभिङस्टोनले १७ रन जोडे । 

बेंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले दुई/दुई तथा यश दयाल र अल्जारी जोसेफले एक/एक विकेट लिए । यो जितपछि बेंगलुरु तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजितका बाबजुद पञ्जाब पाँचौं स्थानमा छ । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ६:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया