कांग्रेस सांसद बडूले संसदीय समितिमा पनि मागे गृहमन्त्री लामिछानेको राजीनामा
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।   

‘सहकारी प्रकरणमा आरोपीहरू कति समातिए ? छानबिन प्रक्रिया कहाँ पुग्यो । स्पष्ट पारिदिनुस् । ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । यदि यो उहाँ नै हो भने छानबिनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त यदि त्यसो हो भने गृहमन्त्रीजी स्वयम् हो भन्ने उहाँलाई लागेको छ भने मलाइ लाग्छ उहाँले यो छानबिन निष्पक्ष हुन र विश्वसनीय बनाउनको निम्ति, जनतालाई पनि विश्वसनीय ढंगले छानबिन गरे है भन्ने पार्नको निम्ति उहाँले छानबिन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन ? त्यो भइदियो भने छानबिन निष्पक्ष र विश्वसनीय हुन्छ । अहिलेको आवश्यकता नै त्यति हो,’ सांसद बडूले भने । 

उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति पनि असन्तुष्टि व्यक्त गरे । सांसद बडूले संविधानको कुन व्यवस्थाअनुरूप सांसदको छानबिन गरिँदैछ भनी पत्र लेखेको हो स्पष्ट पार्न माग गरे । 

उनले सांसद चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको बताए । सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर ह्यारेसमेन्ट गर्न खोजिएको भनेर पनि प्रश्न गरे । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १३:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया