नेपाल तेस्रोपटक एसिया कपमा, समूह चरणमै भारत-पाकिस्तानसँग भिड्ने
फाइल तस्बिर

नेपाली महिला क्रिकेट टिमले आउँदो संस्करणको एसिसी एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउने भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) ले प्रतियोगितामा आठवटा टिमलाई सहभागी गराउने निर्णय गरेसँगै नेपालले एसिया कप खेल्न पाउने भएको हो ।

एसिसीले यो अवसर थाइल्याण्डलाई पनि दिएको छ । गत फेब्रुअरीमा मलेसियामा आयोजना गरिएको एसिसी प्रिमियर कपमा नेपाल र थाइल्याण्ड सेमिफाइनलबाटै बाहिरिएका थिए ।

उक्त प्रतियोगितामा फाइनल पुग्ने टोलीले मात्र एसिया कप खेल्ने पाउने प्रावधान थियो । तर, एसिसीको पछिल्लो बैठकले प्रतियोगितामा भाग लिन पाउने टिमको संख्या बढाएपछि प्रिमियर कपमा सेमिफाइनल खेलेका नेपाल र थाइल्याण्डले एसिया कप खेल्ने मौका पाएका हुन् । 

नेपालले तेस्रोपटक एसिया कप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो । सो दुई संस्करणमा नेपालको प्रदर्शन सम्झनलायक रहन सकेन ।

सन् २०१२ को एसिया कपमा नेपालले समूह चरणको तीनवटै खेल गुमायो । यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा पाँचवटै खेलमा हार बेहोर्‍यो । नेपाल आसन्न संस्करणमा एसिया कपको इतिहासमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । यद्यपि समूह चरणमा बलियो टोली परेकाले नेपाललाई यसपटक पनि जितको खाता खोल्न भने कठिन हुने देखिन्छ ।  



आउँदो एसिया कप १९ जुलाईदेखि श्रीलंकामा सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले १९ जुलाईमा पाकिस्तान, २१ जुलाई यूएई र २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ ।



यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका छन् । दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको सेमिफाइनल २६ जुलाई तथा फाइनल खेल २८ जुलाईमा हुने तालिका छ ।   

  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १४:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया