कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गरेका छन् । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक  बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर  थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् । 

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए । 

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । 

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् । आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् ।  

भोली १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ । 

त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नुहुने यात्रामा सँगै रहेका नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । 



कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् । 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १०:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया