पहिराेले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

सुर्खेत– शनिबार बेलुकाकाे असिनासहितकाे वर्षाले आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो ।

दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ । पानी बेलाबेलामा आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सो स्थानमा स्काभेटर सञ्चालन गर्न पनि गाह्रो भएको जनाइएको छ ।

उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताए । पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उनको गुनासो थियो । 

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ ।



डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराका अनुसार गगनेखोलाको पहिरोले वर्षेनी दुःख दिने गरेको छ ।

अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ ।



  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार ११:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया