आर्थिक वृद्धिमा विश्व बैंकको प्रक्षेपण योजना आयोगको भन्दा कम

काठमाडौं– विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ‘साउथ एसिया इकोनोमिक फोकसः एक्सपोर्ट वान्टेड’मा नेपालको यो आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने पक्षेपण विश्व बैंकले गरेको हो । 

तर, योजना आयोगले यो वृद्धि ७.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालको पर्यटन क्षेत्रको सुधारले सेवा क्षेत्र राम्रो हुने अनुमान गर्दै विश्व बैंकले यो प्रक्षेपण गरेको हो । उसले रिपोर्टमा अर्काे वर्ष सबैभन्दा ठूलो सिमेन्ट फ्याक्ट्रीले उत्पादन पनि सुरु गर्ने भन्दै नेपालको उत्पादन क्षेत्रको विकास राम्रो हुने अनुमान गरेको हो । 

 

दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर तेस्रो स्थानमा 

विश्व बैंकले दक्षिण एशियामा रहेका ८ देशमा नेपालको आर्थिक वृद्धिदर तेस्रो उच्च हुने प्रक्षेपण गरेको छ । नेपालभन्दा भारत र बंगलादेशको आर्थिक वृद्धि बढी भएको विश्व बैंकको अनुमान छ । उसका अनुसार यो वर्ष भारतको ७.५ प्रतिशत र बंगलादेशको ७.३ प्रतिशत आर्थिक वृद्धि भयो । 

विश्व बैंकले यो आर्थिक वर्षमा माल्दिभ्सको आर्थिक वृद्धि ५.७ प्रतिशत, पाकिस्तानको ३.४ प्रतिशत र भुटानको ५.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत हुने आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 



विश्व बैंकको रिपोर्टमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अफगानिस्तान र भारतको मात्रै आर्थिक वृद्धि बढ्ने प्रक्षेपण गरिएको छ । 

 



योजना आयोगको दाबी– नेपालको आर्थिक वृद्धि ७.९ प्रतिशत

विश्व बैंकको रिपोर्टमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेपनि योजना आयोगले नेपालको आव २०७५÷७६ मा ७.९ प्रतिशतले आर्थिक वृद्धि हुने बताएको हो । 

योजना आयोगले नेपालको कृषि क्षेत्रको वृद्धि ४.८, उद्योगको १२.२ तथा सेवा क्षेत्रको वृद्धि ७.९ प्रतिशतले हुने उल्लेख गरेको हो । 

योजना अयोगले अबका पाँच वर्षको आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेको छ । आयोगका अनुसार आगामी वर्ष नेपालको आर्थिक वृद्धि ८.७ प्रतिशत हुने छ । उसले पन्ध्रौँ योजना सकिने बेलासम्म १०.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । 

आयोगले आगामी ५ वर्षमा कृषि क्षेत्रको वृद्धि ५.८, उद्योगको १४.६ र सेवा क्षेत्रको वृद्धिदर १०.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो । 
 

  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार ९:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया