सरकारी अराजकता र प्रतिपक्षको मौनताविरुद्ध नेवि संघको खबरदारी

काठमाडौं– दुईतिहाइको सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेको त्यसमा प्रतिपक्षी दल कांग्रेसले मौनता देखाएको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा खबरदारी सभा गरेको छ । 

नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य र संघकै निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा जारी कार्यक्रमका वक्ताहरूले वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए ।

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका पाँच हजारभन्दा बढी नेता–कार्यकर्ताको उपस्थिति रहेको छ । नेता–कार्यकर्ता आउने क्रम अझै जारी रहेको आयोजकले जनाएको छ । शुक्रबार बिहान १२ बजेबाट सुरु भएको कार्यक्रममा नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, महेन्द्ररत्न क्याम्पस ताहचलका पूर्वअध्यक्ष विपिन अधिकारी, नेपाल ल क्याम्पसकी पूर्वअध्यक्ष रञ्जिता कार्की, नेवि संघ धादिङ जिल्ला अध्यक्ष ईश्वर अधिकारीलगायतले सम्बोधन गरिसकेका छन् ।
 
कार्यक्रमका वक्ताहरूले वर्तमान सरकार अराजक बन्नुमा सरकार स्वयं जति जिम्मेवार छ, त्यति नै मात्रामा प्रतिपक्षी दल कांग्रेस पनि जिम्मेवार रहेको बताए । प्रतिपक्षी कांग्रेसले खबरदारी नगरेकै कारण सरकारले एकपछि अर्को गलत काम गर्दै अघि बढेको उनीहरूको आरोप छ ।
 
नेविसंघ प्रतिपक्षी नेपाली कांग्रेसकै भ्रातृ संगठन हो । सरकारको अराजकतामा कांग्रेसले मौनता साँधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गर्नुपरेको नेवि संघका निवर्तमान सहमहामन्त्री माधव ढकालले बताए । 
     
नेवि संघका निवर्तमान उपाध्यक्ष डिल्ली सुवेदी, पूर्वसहमहामन्त्री बलदेव तिल्मिसिना, पूर्वकेन्द्रीय सदस्य जित शेरचन, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटालगायत विद्यार्थी नेता सहभागी कार्यक्रममा चर्चित  गायक विमलराज क्षत्रीले सांगीतिक प्रस्तुतिमार्फत सहभागीलाई मनाेरञ्जन दिलाएका थिए ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १४:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया