नेपाली विद्यार्थीले गरे ए लेभलमा ‘वर्ल्ड टप’

काठमाडौं– नेपाली विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । यादवले जेभियर इन्टरनेसनल कलेज कालोपुलबाट ए लेभल पढेका हुन् ।

ब्रिटिस काउन्सिलले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा विश्वभरिका विद्यार्थीमा जेभियर इन्टरनेसनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो । कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गरेका उनी केमेस्ट्रीमा विश्वको सातौँ स्थानमा परेका छन् । 

काउन्सिलले कार्यक्रममा वर्ल्ड टप गर्ने यादवसहित विभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको थियो । ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए । यो बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो । 

यसअघि पनि जेभियर इन्टरनेसनलकै विद्यार्थीले वर्ल्ड टप गरेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा ए लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरिएको थियो ।

१० जोड दुई (प्लस टु) सरह मानिने ए लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो । ए लेभलको कोर्स १० जोड दुईको जस्तै दुई वर्षको हुन्छ । ११ कक्षालाई AS र १२ कक्षालाई A2 भनिन्छ । यी दुवै कोर्स सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

विश्वका प्रायःजसो ख्यातिप्राप्त विश्वविद्यालयले ए लेभललाई विशेष मान्यता दिएका छन् । क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १५:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया