वैशाख ९ गते पार्टी एकताको टुंगो लाग्छ : नेता रायमाझी

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वैशाख यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउने काम बाँकी छ । त्यो पनि टुंगो लगाउनेगरि शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ ।’

नेता रायमाझीले यही बैशाख ९ गते नै एकताको सम्पूर्ण काम सम्पन्न भएको घोषणा हुने विश्वास दिलाए । रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे ।

उनले भने,‘जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यासपनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।’

नेता रायमाझीले वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफीयागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास भएको जिकिर गरे ।

उनले भने,‘यी सबै गलत कुरालाई सतहमा ल्याउन वर्तमान सरकार सफल भएको छ । हिजोसम्म यी विषयहरुमा ढाकछोप गर्ने काम भएका थिए । तर, यो सरकारले अहिले सतहमा ल्याएको छ । अब जनताको चाहनाबमोजिम कारबाही हुन्छ । सरकारले उपचार गर्छ ।’



सरकार असफल भयो भन्ने कुरामा आफूले विश्वास नगर्ने उनको दाबी छ । उनले भने,‘सरकारले योजना, बजेट र अधिकार संविधानअनुसार नै बाँडफाँड गरिरहेको छ । ती तहका सरकारहरु छन्, अब जनतालाई रिजल्ट दिनेगरि काम गर्छन् ।’

वर्तमान सरकारले विकास र समृद्धिको रोडम्याप अघि सारेकोले सो लक्ष्य छिट्टै पूरा हुने उनको दाबी छ । उनले भने,‘सरकारको मुल्यांकन त अब नयाँ बजेट ल्याएपछि सुरु हुन्छ । अब समृद्धिको पाईला कसरी चाल्छ ? त्यो हेर्न बाँकी छ । अनिमात्रै, सरकारको मुल्यांकन यो आर्थिक वर्षको अन्तिमबाट सुरु हुन्छ ।’



फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको जिकिर गरे । उनले भने,‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन् । प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन् । यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन् ।’

कांग्रेसको राष्ट्रिय जागरण अभियानबारे टिप्पणी गर्दै रायमाझीले भने,‘कांग्रेसको जागरण अभियान एक अर्कालाई खुईल्याउने काम हुनेछ ।’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताको टेबुलमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले दमन गर्नुहुँदैन् । उनीहरुलाई पनि वार्ता तथा सहमतिको माध्यमबाट राष्ट्रिय राजनीतिमा ल्याउनुपर्छ ।’


  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १२:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया