आठौं राष्ट्रिय खेलकुद : पुलिस क्लब र एपिएफलाई स्वर्ण

नेपालगन्ज– आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषतर्फको भलिबल स्वर्ण नेपाल पुलिस क्लब र महिलातर्फको स्वर्ण एपिएफले पाएका छन् । बुधबारको पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिसले अर्को विभागीय त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । 

नेपालगन्जको शुक्र रंगशालामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मीलाई पहिलो सेटमा २५–१८ ले हरायो । दोस्रो सेटमा २३–२५ ले हार बेहोरेको पुलिसले तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै २५–२० ले आर्मीलाई हरायो । पुनः चौथो सेटमा २५–१८ ले जित निकाल्दै पुलिस ३–१ को सेटमा विजयी हुन पुग्यो । 

त्रिभुवन आर्मी रजतमै सीमित भयो । बुधबारै भएको भिडन्तमा एपिएफले गण्डकी प्रदेशलाई ३–२ को सेटमा हराउँदै कास्य जित्यो । 

यता, महिला भलिबलको स्वर्णपदक विभागीय टोली एपिएफले जितेको छ । बुधबार बिहान एपिएफ र प्रदेश नम्बर ३ को टोलीबीच भएको फाइनल खेलमा एपिएफले स्वर्ण जितेको हो । 

पहिलो सेटमा प्रदेश ३ लाई २५–११ ले पराजित गरेको एपिएफले दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण जितेको हो । प्रदेश ३ रजत पदकमै सीमित भयो । 

त्यसैगरी, नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमै पराजित गरेर तेस्रो स्थानका साथ कास्य पदक जितेको छ । प्रहरीले गण्डकीलाई पहिलो सेटमा २५–१८ दोस्रो सेटमा २५–९ र तेस्रो सेट २५–२३ अंकका साथ पराजित गरेको थियो । 





  • प्रकाशित मिति : वैशाख ११, २०७६ बुधबार १४:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया