Mon, 03 Aug, 2020


झन्–झन् बढ्दै छ महिलाहिंसा, के गर्दै छन् सरोकारवाला निकाय ?
फरकधार / बैशाख १४, २०७६

काठमाडौं– गत वैशाख ५ गते धनुषाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले मट्टीतेल खन्याएर आगो लगाए । धनुषा सहिदनगर नगरपालिकाको सो घटनाको एक साता नबित्दै पुनः सिराहामै अर्की एक महिलालाई पतिले नै जलाइएको खबर सार्वजनिक भयो । 



पछिल्लो खबर हो, सिराहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई जिउँदै जलाइएको घटना । कञ्चनदेवी जिउँदै जलाएर उनका पति बेचन मण्डल खत्वे फरार भएका छन् । सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घर–परिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले उपचारका क्रममा सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा आत्महत्या गरिन् । 

धनुषाको क्षिरेश्वर नगरपालिका–८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर घरमै आगो लगाएका थिए । जिउमा मट्टीतेल खन्याएर जलाइएकी हजराले पीडा सहन नसकेर १० दिनपछि अस्पतालमै आत्महत्या गरिन् ।

०७३ असोज ६ मा सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठमाथि आगो लगाइयो । दोस्रो बिहे उनका पतिले नै श्रेष्ठको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । उनी हाल अग्नि हिंसापीडित नेपाल ‘बिभिएस’को संरक्षणमा छिन् । आगोका कारण उनको घाँटी र छाती जलेको छ ।

यी घटना केही प्रतिनिधि घटना मात्रै हुन् । समाजमा यस्ता कैयौँ घटना गुपचुप राखिएका छन् । यस्ता घटनाले देखाउँछ, हाम्रो समाज अपराधोन्मुख हुँदै छ । दाइजोप्रथा, बोक्सीको आरोपलगायत कारणले तारन्तार महिलाहिंसा भइरहेको छ । 

मट्टीतेल, पेट्रोल वा एसिड खन्याएर क्रूरतापूर्वक जलाउने र हत्या गर्ने क्रम रोकिएको छैन, बरु झाँगिएको छ । करिब ३ वर्षकोे बीचमा मात्रै ४० महिला र बालबालिका अग्निजन्य हिंसाको सिकार भएका छन् । दाइजो विवादका कारण मारिने र आत्महत्या गर्ने क्रम बढ्दो छ । 

आठ वर्षको अवधिमा एक सय ७९ जना महिला र बालबालिकामाथि एसिड छ्यापेर र जलाएर हिंसा गरिएको सर्वेक्षणले देखाएको छ । यीमध्ये ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाएका छन् । पीडितको उद्धार, पुनःस्थापना र न्याय क्षेत्रमा क्रियाशील संस्था अग्नि हिंसापीडित नेपाल ‘बिभिएस’ले २०१० जनवरीदेखि २०१८ जनवरीसम्म गरेको अध्ययन सर्वेक्षणले यस्तो भयावहको अवस्था देखाएको हो ।

सर्वोच्च अदालतको पछिल्लो वार्षिक प्रतिवेदनले मुलुकभरका अदालतमा घरेलु हिंसाका एक हजार ५७ मुद्दा दर्ता रहेको तथ्य उजागर गरेको छ । जसमा सुदूरपश्चिमका पाँचवटा जिल्लामा मात्र घरेलु हिंसाका पाँच सय ४३ मुद्दा छन् । मुद्दाको प्रकृति अध्ययनका क्रममा एसिड छ्याप्ने र जलाउने घटना विगत वर्षभन्दा झन् बढेको अदालतको निष्कर्ष छ । 

महिला मात्र नभई बालबालिकामाथि पनि जलाएर हिंसाका घटना हुने गरेको युनिसेफ नेपालका बाल संरक्षण अधिकृत दीपक श्रेष्ठ बताउँछन् । कुनै संस्थाको वा व्यक्तिको एकल प्रयासले मात्रै यसको नियन्त्रण र रोकथाम सम्भव नदेखिएको उनको बुझाइ छ । सुरक्षा निकाय, गैरसरकारी संस्था, नागरिक समाज र सञ्चारमाध्यमको सामूहिक प्रयासले मात्र रोकथाम सम्भव हुने उनको बुझाइ छ । 

एसिड हानेको र जलाएको विषयमा छुट्टै कानुन बनिसकेको छैन । ठोस कानुनको अभावमा यस्ता घटना कुटपिट अभियोगअन्तर्गत दर्ता हुने गरेका छन् ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहाल एसिड र जलाइएका घटनामा मृत्यु भइसकेको भएमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुरूप ‘कर्तव्य ज्यान’ मुद्दा र घाइते भएमा ज्यान मार्ने उद्योगअन्तर्गत दोषीउपर मुद्दा चलाइने गरिएको बताउँछन् । 

‘जलाउने र एसिड आक्रमणका घटनामा अभियोग लगाउन भिन्नै कानुन छैन,’ सहन्यायधिवक्ता दाहाल भन्छन्, ‘अहिलेसम्म मुलुकी ऐनको व्यवस्थाअनुरूप नै सजाय माग गर्ने गरिएको छ ।’

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष उषा मल्ल पाठक घरेलु हिंसाका घटनामा पारिवारिक असहयोग हुने गरेको बताउँछिन् । सोही कारण कारबाहीको पहुँचमा पुग्न नसकेको उनको तर्क छ । जति नै कडा कानुन बनाए पनि हिंसा नरोकिने बताउँदै पाठकले दाइजो र बोक्सीजस्ता सामाजिक कुसंस्कार हटाउन योजना नै बनाएर व्यापक जनचेतना फैलाउनुपर्ने बताइन् ।  

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी महिलाहिंसा बढ्दै जानुमा गरिबी र अशिक्षा मुख्य कारक भएको बताउँछन् । सामाजिक संरचनाको कारण पनि हिंसा हुने गरेको नेता चौधरीको बुझाइ छ ।  

फरकधारसँग कुरा गर्दै उनले भने, ‘गरिबी छ । अशिक्षा छ । शिक्षा नभएपछि रोजगारी भएन । रोजगारी नभएपछि यो समस्या आउँछ ।’ सामाजिक संरचना र मानिसको चेतनास्तर न्यून हुनुले पनि यस्ता समस्या आएको उनले बताए ।

नयाँ शक्ति पार्टी, नेपालकी युवा नेतृ मानुषी यमी भट्टराईले महिलाहिंसा पछिल्लो समय बढेको बताइन् । दशकअघि या त्यसभन्दा पहिले महिलाहिंसा भए पनि त्यो कसैले थाहा नपाएको उनले बताइन् । ‘महिलाहिंसा भएको पहिला धेरै थाहा हुँदैनथ्यो । मिडियाले पनि धेरै कभरेज गर्दैनथ्यो,’ मानुषी भन्छिन्, ‘परिवारबाट पनि हत्तपत्त यस किसिमका घटनालाई बाहिर ल्याइँदैनथ्यो । गुपचुप राखिन्थ्यो । पुलिस प्रशासनबाट पनि सम्बोधन हुन्थेन ।’ 

मानुषी महिलाहिंसा पितृसत्तात्मक समाजको उपज भएको बताउँछिन् । महिलाहिंसा रोक्ने उपाय सुझाउँदै उनले भनिन्, ‘हामीसँग जे कानुन छ, त्यसलाई लागू गर्नुपर्छ । प्रहरी प्रशासनलाई जनताको पहुँचमा पुगोस् भनेर राज्यले दायित्व निभाउनुपर्छ । यो तत्कालै गर्न सकिने काम हो ।’ 

दीर्घकालीन रूपमा पनि महिला सशक्तीकरणका कामहरू गर्न सकिने बताउँदै उनले भनिन्, ‘यसलाई एउटा अभियानको रूपमा सञ्चालन गर्नुपर्छ । यसको नतिजा तत्कालै नआउला, तर दीर्घकालीन रूपमा धेरै महत्वपूर्ण हुन्छ ।’

काठमाडौंका तारे होटलमा महिला सचेतनाका कार्यक्रम गरेर गाउँ–गाउँमा जनचेतना नपुग्ने बताउँदै उनले भनिन्, ‘साँच्चै महिलाहरूलाई कसरी शक्ति प्रदान गर्ने, आर्थिक रूपमा कसरी सक्षम बनाउने ? यसमा हामी सबैले गम्भीर भएर सोच्नुपर्छ ।’ 

क्रान्तिकारी भनिने मान्छेहरूले पनि सामाजिक कुप्रथालाई अंगीकार गरेको भन्दै उनले सांस्कृतिक रूपान्तरण लामो प्रक्रिया रहेको बताइन् । राजनीतिक परिवर्तन आउनेबित्तिकै सांस्कृतिक रूपान्तरण भइनहाल्ने उनको बुझाइ छ । 

राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी डा. टीकाराम पोखरेलले महिलाहिंसा न्यूनीकरणका लागि  आयोगले मनिटरिङ गरिराखेको बताए । मानवअधिकारका सम्बन्धित कार्यालयाट यो काम भइरहेको जानकारी गराउँदै उनले भने, ‘२ नम्बर प्रदेश कार्यालय जनकपुरबाट कामहरू भइरहेको छ । हामीले जिम्मेवारीअनुसार काम गरेका छौँ ।’ 

त्यसैगरी, धनगढी र जनकपुरमा कार्यक्रम भइसकेको र पोखरामा पनि गर्न लागिएको उनले बताए । महिलाहिंसा न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढेको उनले जानकारी दिए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्