'चलखेल गरेर' प्रदेश २ मा पनि नेकपाकै सरकार बनाउन सकिन्छ – प्रचण्ड

काठमाडाैं– केन्द्रमा सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को सरकारप्रति असन्तुष्टि पोख्दै अब त्यहाँ पनि ‘चलखेल गरेर’ नेकपा नेतृत्वकै सरकार बनाउन सकिने बताएका छन् । 

मंगलबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा कार्यक्रम गरी मधेस–तराई फोरमका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले प्रदेश २ को सरकारमाथि धावा बोलेका हुन् ।  

मधेसमा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार ठीक ढंगले नचलेको दाबी गर्दै प्रचण्डले भने, ‘हामीले चाहने र ठूलो पार्टी हुनुको नाताले चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ ।’ 

अहिलेको सरकार जनहितमा नचलेको भन्दै अध्यक्ष प्रचण्डले प्रदेश २ मा कम्युनिस्ट पार्टीको सरकार बन्नु मात्रै त्यहाँको जनताको हितमा हुने बताए । अहिलेकै सरकारले राम्रो काम गर्छ भन्ने सोचेर चलखेल नगरेको भन्दै उनले प्रदेश २ मा भ्रष्टाचार र बेइमानी बढेको आरोप लगाए । 

‘उहाँहरुले बनाएको सरकारले राम्रो काम गरोस्, हाम्रो साथ रहन्छ भनेकै हो । यहाँसम्म आइपुग्दा जे देखियो, झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी । अहिले त योजना निर्माणमा व्यक्ति–व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो,’ प्रचण्डले भने, ‘यही स्थिति हुने हो भने बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

प्रचण्डले तराई–मधेसको विकासका लागि केन्द्र सरकारले योजना बनाइराखेको पनि भन्न भ्याए । अब आउने नीति, कार्यक्रम र बजेटबाट तराई–मधेसको विकासका योजना ल्याइने उनको भनाइ छ । 



तराई–मधेसका जनताको हितमा हुने गरी संविधान संशोधन गर्न आफूले सक्दो पहल गरेको पनि उनले बताए ।



  • प्रकाशित मिति : वैशाख १७, २०७६ मंगलबार १२:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया