‘हामी कवि र कविता’मा सुनिए विप्लव प्रतीक र रमेश सायन

काठमाडौं– १२ महिनाको १२ दिन अर्थात् प्रत्येक महिनाको संक्रान्ति कवि मनहरूका लागि विशेष दिन । पौने ६ वर्षयताका संक्रान्तिहरू कवि मनका लागि मात्र होइन, कला वा साहित्यलाई माया गर्ने हरेकका लागि पनि चासोको दिन बन्दै आएको छ । सो दिन साहित्यका पारखीहरू पुग्ने गर्छन्, कालिकास्थानस्थित सर्वनाम थिएटरमा । जहाँ श्री लुनकरन दास–गंगादेवी चौधरी र सर्वनाम थिएटरको संयुक्त आयोजनामा ‘हामी कवि र कविता’ कार्यक्रम आयोजना हुँदै आएको छ । जसको नारा नै छ, ‘हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौँ ।’ 

यसपालिको जेठको पहिलो दिन झनै विशेष रह्यो । कारण कवि विप्लव प्रतीक र रमेश सायनका कविताले साहित्यिक मनहरूलाई प्रफुल्लित गराए । कार्यक्रम सुरु हुनुभन्दा पहिले सबैमा एक किसिमको उत्साह र कौतुहलता देखिन्थ्यो । कोही कविता सुन्न व्यग्र प्रतीक्षामा थिए त  कोही समय बिताउनका लागि आर्ट ग्यालरीमा टाँगिएका पेन्टिङ अवलोकन गर्दै थिए । 

टिङ टिङ टिङ... घन्टी बज्छ । सबै गुटुटुटु आउँछन्,  हलमा छिर्ने बाटोमा । लाइन बस्छन् । पालैपालो छिर्छन्, सर्वनामको प्रेक्षालयमा । त्यहाँ कवि विप्लप प्रतीक र रमेश सायन तयार छन्, कविता वाचनका लागि । सबै दर्शकहरू बसिसकेपछि सर्वनामका निर्देशक अशेष मल्लले कविद्वयलाई माला र खादा लगाएर स्वागत गरे ।
कार्यक्रमको समय १ घन्टा तोकिएकाले दुवैजना कविलाई ३०–३० मिनेटको समय दिइन्छ, कविता वाचनका लागि । कार्यक्रम सञ्चालक राज शाहले सुरुमा कवि रमेश सायनलाई बोलाए ।

सायन मुस्कुराउँदै पोर्डियमको छेउमा भन्छन्– ‘कहिलेकाहीँ आफूलाई पागलजस्तो लाग्छ, अचम्म लाग्छ मोरङबाट कविता सुनाउन यहाँसम्म आए ।’ नले यति भनिसक्दा दर्शकदिर्घा हाँसोको फोहराले गुन्जायमान हुन्छ । लगत्तै उनले कविता सुरु गरे, ‘जागिर’ शीर्षकको कविताबाट । सो कवितामा उनले जागिरे जीवनको पीडालाई राम्ररी केलाए ।

एक दिन म जिन्दगीसँग औधी थाकेँ र भनेँ
मालिक तपाईंले मेरो भोक र अभावहरू टारिदिनुभयो
धन्य छ तपाईंलाई
अब मलाई मर्न दिनुस् 
मालिकले भन्यो– ठीकै छ आज थुप्रै काम छ
सप्पै सक र भोलि मर ।



कविताको अन्तिमतिरको अंश हो यो । यो कवितांश सुनेर दर्शकले तालीको वर्षा गरे । आयोजकले दिएको समयमा उनले ‘परिचय’, ‘बुख्याचा’, ‘तस्बिरमा उभिएको मान्छे’, ‘नाम धनिमाया थारू वर्ष ८४’लगायत कविता सुनाए ।

अब पालो आयो, कवि विप्लव प्रतीकको उनी मञ्चमा आउनासाथ दर्शकको ताली र हुटिङले हल गुञ्जायमान भयो । दर्शक उनको कविता सुन्न आतुर देखिन्थे ।



सर्वनाममा आएर कविता वाचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने– ‘एकपटक कविता सुनाउन आउने कुरा भयो, तर मभन्दा पहिला भुइँचालो आयो । मलाई लागेको थियो, सर्वनाममा कविता सुनाउने लेखेकै रहेनछ, तर आज कविता सुनाउन पाउँदा एकदमै खुसी छु ।’

प्रतीकले ‘मेरो खुल्दुली’, ‘जेब्राक्रसमा एउटा कुकुर’, ‘हामी बाँचेको नयाँ युग’, ‘बा’, ‘नहारेको मान्छे’लगायत पुराना देखि नयाँ कविता सुनाए । 

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्
म बन्न चाहन्छु पानीको निर्मल थोपा जुन थोपाको मात्रै कुनै मूल्य छैन
म बन्न चाहन्छु हावाको शीतल झोक्का जुन झोक्काको मात्रै कुनै अर्थ छैन...

कार्यक्रमको अन्तिममा सुनाएको उनको अधुरो कवितांश हो यो । कविता वाचनकै सन्दर्भमा उनले अचम्मको इच्छा सुनाए । भने ‘म यस्तो कलाकार बन्न चाहन्छु, जसले जीवनभर कुकुरले नपाएको दुःख पाउँछ र मरेपछि पनि उसलाई कसैले याद राख्दैन ।’

विप्लव प्रतीकको यस्ताे इच्छासँगै दर्शकदिर्घामा सन्नाटा छायो । सँगै ‘हामी कवि र कविता’को ६८औँ शृंखला समापन भयो ।

  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १५:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया