अमेठीमा राहुलले माने हार, युपीका ८० सिटमध्ये सोनियाको एक सिटमा मात्रै कांग्रेसको आस

नयाँ दिल्ली– कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीमा हार स्वीकार गरेका छन् । अन्तिम मतपरिणाम नआउँदै राहुलले भाजपा उम्मेदवार स्मृति इरानीलाई जितको बधाई दिएको बिबिसी हिन्दीले जनाएको छ । जारी मतगणनामा राहुल स्मृतिभन्दा १० हजार भोटले पछाडि छन् । 

उसो त राहुल यसपटक अमेठीबाट चुनाव जित्नेमा पहिले नै ढुक्क थिएनन् । त्यसैकारण उनी अमेठीसँगै केरलाको वायनाडबाट पनि चुनाव लडेका थिए । वायनाडमा राहुलको जित लगभग पक्का छ । 

अमेठी इतिहासदेखि नै कांग्रेसको पकडक्षेत्र हो । राजीव गान्धीको पालादेखि नै अमेठीमा कांग्रेस हारेको थिएन । 

सन् २००४ यता यो क्षेत्रबाट राहुल नै चुनिँदै आएका थिए । २०१४ मा राहुलले स्मृति इरानीलाई नै हराएका थिए । २००४ र २००९ को चुनाव भारी अन्तरले जितेका राहुलको मतान्तर २०१४ मा निकै घटेको थियो, तथापि उनको अग्रता १ लाख ७ हजार भोटको थियो । 

२०१४ मा हारका बाबजुद स्मृति मन्त्री भइन् । अमेठीमा उनी लगातार क्रियाशील रहिन् । अमेठीमै घर लिएर बेला–बेला उतै बस्न जान थालिन् । पाँच सालको कडा परिश्रमको नतिजा स्मृतिले यसपटक राहुललाई हराउने भएकी छिन् । 

यसै त आफ्नो ऐतिहासिक गढ, त्यसमाथि पार्टीका केन्द्रीय अध्यक्षले नै चुनाव हार्नु कांग्रेसका लागि ठूलो झड्का हो । अझ, ८० सिट भएको उत्तर प्रदेशभर केवल १ सिटमा अग्रता लिन सक्नु इतिहासमा सबैभन्दा लामो समय शासन गरेको दलका लागि सानो पीडा होइन ।



ठूलो आशाका साथ पार्टी महासचिव बनाएर उत्तर प्रदेशमा खटाइएकी राहुलकी बहिनी प्रियंका गान्धीको पनि राजनीतिक असफलताको संकेत हो यो । उत्तर प्रदेशमा कांग्रेसले युपिए अध्यक्ष सोनिया गान्धीको रायबरेली क्षेत्रमा मात्र अग्रता पाएको छ ।



  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १८:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया