सामाजिक सुरक्षाभत्ता पाउने उमेरबारे बहस गरौँ : अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षाभत्ता पाउने उमेरबारे बहस गर्न सकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले सो कुरा बताएका हुन् ।   

शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता स्वरूप वृद्धभत्ता दिनुपर्ने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उक्त व्यवस्थालाई हटाएपछि कांग्रेस असन्तुष्ट बन्दै आएको छ । सार्वजनिक कार्यक्रममा कांग्रेसका नेताहरूले ६५ वर्षको उमेर वृद्धभत्ता दिनुपर्ने माग गर्दै आएका छन् । ओली नेतृत्वको वर्तमान सरकारले ७० वर्ष नै उमेर कायम राखी दुई हजार दिइँदै आएको भत्तामा एक हजार बढाएर ती हजार पुर्याएको छ । 

संसद्मा सरकारको ध्यानाकर्षण गराउँदै सांसद एवं कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका थिए । कांग्रेस सांसदको प्रश्नको उत्तर दिँदै वृद्धभत्ता दिने उमेरबारे बहस गर्नुपर्ने बताए । 

अर्थमन्त्री खतिवडाले भने, ‘सामाजिक सुरक्षाभत्तासम्बन्धी म धेरै बहस गर्न चाहँदैनथेँ, तर सबैभन्दा धेरै बहसको विषय यही भयो ।’ २०५१ सालमा जब ७५ वर्ष पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था हुँदा त्यतिखेर ७५ वर्ष धेरै भयो भन्ने कुरा नउठेको स्मरण गराउँदै उनले भने, ‘जुनवेला औसत आयु ५९ वर्ष थियो । तर, अहिले २५ वर्षपछि ६५–७० वर्ष उमेर औसत आयुको विवाद हामी किन गर्दै छौँ ? यही बहस ०५१ सालमा गरिदिएको भए कति रमाइलो हुन्थ्यो ?’ यद्यपि, यसमा थप बहस गर्न तयार रहेको उनले बताए । 

सार्वकालिक सामाजिक सुरक्षा हुनुपर्छ भनेर आफूहरूले बजेटमा जीवनचक्रको कुरा गरेको बताउँदै पूर्वगभर्नर समेत रहेका खतिवडाले जीवनचक्रको हिसाबले कुरा गर्ने हो भने सामाजिक सुरक्षाभत्ताको विषयमा विवाद नै नहुने बताए । सामाजिक सुरक्षाभत्ताको विषयमा राष्ट्रिय योजना आयोगबाट प्रकाशित हुने पुस्तकमा स्पष्ट लेखेको सुनाउँदै उनले राज्यले धान्न सक्ने गरी बढीमा १५ प्रतिशत सामाजिक सुरक्षाभत्ता दिनुपर्ने बताए । 

उनले भने, ‘सामाजिक सुरक्षाभत्ताको विषयलाई कता लैजाने हो ? बजेट कति पुर्याउने हो ? राज्यले धान्न सक्ने सीमा कति हो ? बढीमा १५ प्रतिशतसम्म जान सक्नुपर्छ ।’ सरकारले सामाजिक सुरक्षालाई १०–११ प्रतिशतमा राखेको खतिवडाले बताए । राज्यका प्रणालीलाई विकास गर्दै लगियो भने सामाजिक सुरक्षाबारे अन्य मुलुकसँग तुलना गर्नु नपर्ने उनले बताए । 



उनले भने, ‘हामीले धान्न सकिने गरी नै सामाजिक सुरक्षाको व्यवस्था गर्दै जाने हो । बजेट अनुशासन त्यसरी नै पालना गर्दै जाने हो ।’ आफूले ज्येष्ठ नागरिक भत्ताको अध्ययन गरेको बताउँदै उनले भने, ‘नातिनातिनालाई कापीकलम पुस्तक किन्दिनुभएको छ हजुरबा हजुरआमाले । स्कुल जाने बेलामा खाजा किन्दिनुभएको छ । औषधोपचारको वेला पैसा झिक्नुभएको छ । कति राम्रो भएको छ ।  राज्यले सोझै गर्न नसक्ने कतिपय कुराहरू हजुरबा हजुरआमाले गरिदिनुभएको छ । आफ्ना नातिनातिनालाई । के त्यो राम्रो भएन र ?’ 

सामाजिक सुरक्षा राज्यको मात्रै नभएर परिवारको दायित्व र जिम्मेवारी भएको बताउँदै उनले भने, ‘परिवारको जुन जिम्मेवारी हो, त्यो पूरा गर्ने क्षमता सामाजिक सुरक्षा भत्ताले अभिभावकलाई दिएको छ ।’ 
 



  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १५:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया