सिकाइको वातावरण नै बालमैत्री वातावरणको सूचकः शिक्षामन्त्री

काठमाडौं– सिकाइको वातावरण नै बालमैत्री वातारणको मूल सूचक भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । 

काठमाडौं महानगरपालिका–४ र काठमाडौं जिल्ला बाल क्लब सञ्जालको सहकार्यमा शुक्रबार धुम्रवाराही माध्यमिक विद्यालयमा ‘बालमैत्री विद्यायलय घोषणा तथा प्रतिबद्धता समारोह’मा मन्तव्य राख्दै मन्त्री पोखरेलले भने, ‘सीपमूलक शिक्षा आजको आवश्यकता हो । देशभरका सबै विद्यालयमा सीपमूलक विषयहरु पढाउने सरकारको योजना छ ।’

नयाँ बजेटले ४२ जिल्लामा निःशुल्क दिवा खाजा, सेनेटरी प्याड उपलब्ध गराउने लगायत व्यवस्था गरेको भन्दै मन्त्री पोखरेलले शिक्षामा आमूल परिवर्तनका लागि आफ्नो सरकारले रणनीति र कार्ययोजना बनाएको बताए । ‘हाम्रो मन्त्रालय अहिले यसैमा गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘अबको केही वर्षभित्रै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेछ ।’ 

मन्त्री पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीसँगै सांसद नारायण सिलवाल र वडाध्यक्ष मोहनबहादुर विष्टले संयुक्त रुपमा ‘बालमैत्री विद्यालय कार्ययोजना २०७५’ सार्वजनिक गरेका थिए । 

‘अब यो योजना नेपालभरका संस्थागत तथा सामुदायिक विद्यालयमा प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ,’ सार्वजनिक कार्ययोजनाबारे मन्त्री पोखरेले भने । 

कार्यक्रममा विद्यालयहरुमा सूचकहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न गठन गरिएको बालमैत्री विद्यालय अनुगमन समितिका पदाधिकारीलाई प्रशंसापत्र र पदक हस्तान्तरण गरिएको थियो । 



कार्यक्रममा प्रदेश–३ का सांसद नारायण सिलवालले सम्पूर्ण विद्यालयले बालमैत्री वातावरणमा पठन–पाठन गराउनुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १२:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया