Thu, 19 Sep, 2019


जसले नर्वेको सपना छाडेर डोल्पा रोजिन्
सुरेन्द्र बजगाईं
फरकधार / असार २, २०७६

सन् २०१३ । काठमाडौंमा जन्मे हुर्केकी अनिमा पौडेल नर्वे अध्ययन गर्न जाने तयारीमा जुटिन् । काठमाडौंमा उनले प्लस टु सकिसकेकी थिइन्, साथीहरु सबै विदेश पढ्ने भनिरहेका थिए । उनलाई पनि परिवार र आफन्तले भनिरहेका हुन्थे– अमेरिका जाउ, राम्रो हुन्छ । 



अमेरिका होइन, अनिमालाई नर्वेले लोभ्याएको थियो । पढ्नकै लागि विदेश जाने भए नेपाली कम गएको देश जाऔँ भन्ने सोच अनिमामा आएको थियो । अनि चिसो भनेपछि उनी हुरुक्कै हुन्थिन् । 

त्यसैले सबैले अमेरिका सिफारिस गरिरहँदा पनि अनिमा डिल्लीबजारमा एउटा कन्सल्टेन्सीमा पुगिन्, नर्वे जाने सपना बोकेर । 

तर, आजभोलि गर्दागर्दै ‘कन्सल्टेन्सीले झुलायो’ । 

सौभाग्य भनौँ या दुर्भाग्य, त्यही कन्सल्टेन्सीले ‘झुलाइदिँदा’ अनिमाको जीवनको यात्रा मोडियो । 

अनिमा त्यही कन्सल्टेन्सी धाउँदाको समयको कुरा हो । एकजना साथीले उनलाई सुझाव दिइन्– एक्सन एडमा भोलिन्टियर मागेको छ, एप्लाइ गर न ।

ती साथीको कुरा मानिन् अनिमाले । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)मा काम गरे बायो डाटामा गज्जबको बुँदा थपिन्छ भन्ने उनको मनमा पर्यो । 

तर, एक्सन एडले उनलाई जे भनेर बोलाएको थियो, त्यो गर्न लगाएन । उनलाई त महिला सशक्तिकरण अभियानमा स्वयंसेवी भनेर बोलाएको थियो, एक्सन एडले । तर, उनले सुरुमा काम पाइन्– कपहरु पेन्ट गर्ने ।

त्यसको केही समयपछि मात्र अनिमाले कार्यक्रमहरुमा सहभागिता जनाउन पाइन् । विस्तारै उनको दायरा फराकिलो हुँदै गयो । नेपालका विभिन्न गाउँमा उनी जान थालिन् । पहिले जे भए पनि चुपचाप बस्ने अनिमा अब विस्तारै बोल्न थालिन्, आफ्ना कुरा पब्लिकमा राख्न सक्ने भइन् ।

यो सब त अनिमाले गरिरहेकी थिइन्, उनको विकास पनि हुँदै थियो । तर, नर्वे वा विदेश जाने भूत उनको मनमा सवार नै थियो । 

त्यहीबीच डेनमार्कमा पिएचडी गरिरहेकी महिलासँग नेपालमा उनको भेट भयो । ती महिला नेपालमा पिएचडी रिसर्च गर्न आएकी थिइन् । उनले नेपाली समाजमा बसाइँसराइँको विषयमा रिसर्च गर्दै थिइन् । त्यसैका लागि अनिमा पाँचथर गइन् । 

त्यहाँ ती विदेशीसँग अनिमाले पाँच महिना बिताइन् । 

उनीहरु पाँचथरबाट फर्किँदै थिए । फर्किने तारतम्य गरिरहेका बेला ती विदेशी महिलाले भनिन्, ‘यति सुन्दर छ नेपाल स्वर्गजस्तै, सधैं यहाँ नै बस्न पाए त म आफ्नै देश पनि फर्किने थिइनँ !’

ती विदेशी महिलाको यही कुराले अनिमाको विदेश जाने सपनामा पूर्णविराम लाग्यो । 

संयोग, विदेश जान्न भन्ने मन लिएर काठमाडौं आइपुगेकी अनिमालाई एक्सन एडले भन्यो– तिमी कोलम्बिया जानू ।

पहिले त प्रतिकार गरिन् अनिमाले । सकेसम्म आफू नजाने कुरा बताइन् । तर, एक्सन एडले उनलाई सम्झायो, बुझायो । अनि २० दिनका लागि कोलम्बिया जान तयार भइन्, अनिमा । कोलम्बियामा अनिमाले एक कार्यक्रममा महिला अधिकारबारे आफ्ना कुरा पनि राखिन् । नेपालबाट एक्लै कोलम्बिया पुगेर नेपाल आएकी अनिमाले त्यसपछि अरु देशमा पनि विभिन्न कार्यक्रममा पुगेकी छिन् । तर, जहाँ जहाँ पुगे पनि अनिमाको मन नेपालमै हुन्छ । 

अनि नेपालमा हुँदा चाहिँ उनको मन डोल्पामा पुगिहाल्छ । 

खासमा अनिमा सुरुमा डोल्पा स्वयंसेवी शिक्षिका भएर पुगेकी हुन् । ‘स्नो याक’ नामको संस्थाबाट उनी त्यहाँ पुगिन् ।

एकदिन पत्रिकामा संस्थाका प्रमुख विनोद शाहीको अन्तर्वार्ता पढेपछि उनी यो संस्थासँग जोडिन पुगिन् । विनोदलाई डोल्पाका विद्यालयहरुमा शिक्षाको वातावरण निर्माण गरे वापत् ‘सर अफ हिमालय’को सम्मान पनि दिइएको छ । विनोद विदेशी सहयोग नलिइ नेपालीहरुको सहयोगमा मात्र डोल्पाका विभिन्न ठाउँमा बालबालिकालाई अध्ययन गर्ने अवसर जुटाउन दिनरात लागिरहेका छन् ।

‘विनोद सरको अन्तर्वार्ताले मलाई लोभ्यायो,’ डोल्पा जानका लागि तयारी गरिरहेकी अनिमाले केही दिनअघि काठमाडौंमा भनिन्, ‘अनि म पनि डोल्पा जाने भएँ, मलाई डोल्पाका बालबालिकालाई केही गर्नु पर्छ भन्ने भयो ।’

अनिमाले स्नो याकमा अन्तर्वार्ता दिन जाँदा भनेकी थिइन्, ‘म पनि डोल्पा जान चाहन्छु, मलाई बच्चाहरु मन पर्छ ।’ खासमा डोल्पाले मन तानिसकेकाले अनिमाले ढाँटेकी थिइन्, डोल्पाका बालबालिकाका लागि यो झुट बोलेकी थिइन् । 

अन्तर्वार्तामा अनिमा छानिइन्, उनी डोल्पा पुगिन् ।

‘त्यो मेरो पहिलो डोल्पा यात्रा थियो,’ अनिमा सन् २०१७ तिर फर्किइन्, ‘पुग्नेवित्तिकै सुरुमा त बेक्कार आएछु भन्ने भयो । एकै ठाउँमा १ सय ६० जना बालबालिका पढाउनु पर्ने पो रहेछ, अनि त्यहाँको भाषा पनि नबुझिने ।’

अनिमा तल्लो डोल्पा पुगेकी थिइन् । पहिलो दिनमै उनले १ कक्षादेखि ५ कक्षासम्मका बालबालिका पढाउनु पर्ने भएको थियो । ‘झन्, बालबालिकाले बोलेको त केही नबुझिने,’ उनले भनिन्, ‘सुरुका केही दिन त डोल्पामा निकै कष्ठ भयो ।’

केही महिना डोल्पामा पढाएपछि काठमाडौंमा फर्किइन् अनिमा । यसपटक उनको मन अब डोल्पा नफर्किने भन्नेमा पुगेको थियो । 

‘पहिले डोल्पाले पूरै मन लिएको थियो,’ उनले भनिन्, ‘तर, त्यहाँ भोगेका अनेक समस्याले मेरो मन मरेको थियो ।’ त्यसमाथि बालबालिका पढ्नमा ध्यान दिँदैनथे, अनिमाको आशालाई यसले निराशामा बदलिदिएको थियो ।

काठमाडौंमा हुँदा अनिमालाई एकदिन एउटा चिठी आयो । त्यो चिठी डोल्पामा उनले पढाएका बालबालिकाले लेखेका थिए । 

‘तिमी आउ मिस, हामीलाई पढाउ, अंग्रेजी पढ्ने, हाम्रो पढाइ रोकियो,’ यस्तै तरिकाले लेखिएका चिठीले फेरि अनिमाको मन पगाल्यो । अनि उनी फेरि पुगिन्, डोल्पा । 

‘त्यहाँका बालबालिकामा पढाइको भोक छ,’ अनिमाले यी वर्षमा अनुभव गरेकी छिन्, ‘साधन स्रोतको कमी छ तर त्यहाँका बालबालिका विहानै पनि म बसेको ठाउँमा कापी कलम लिएर ल पढाउ भन्दै आउँथे ।’

डाेल्पाली बालबालिकासँग स्नाे याकका स्वयंसेवक ।

अनिमाले स्कुलको कोर्षका किताब मात्र पढाएकी छैनन् डोल्पामा । उनले त त्यहाँका बालबालिकामा प्रकृतिप्रति प्रेम पनि जगाएकी छिन् । ‘पहिले त उनीहरु कुकुरलाई भीरबाट धकेलिदिन्थेँ, चरा मार्ने भन्दै गुलेली लिएर हिँड्थे,’ उनले भनिन्, ‘जब मैले प्रकृतिको महत्व उनीहरुलाई पढाएँ र परिवर्तन भएको पाएँ, मलाई ती बालबालिकाको माया झन् बढी लाग्न थाल्यो ।’

अनिमा अहिले फेरि डोल्पामा पुगिसकेकी छिन् । यसपटक उनी शिक्षक नभएका कारण बन्द हुनै लागेको स्कुलमा पढाउन गएकी हुन् । यो डोल्पाको दलित बस्तीको एउटा स्कुल हो जहाँ डोल्पाकै अन्य शिक्षकहरु पनि हत्तपत्त जान मान्दैनन् । उनलाई त्यहाँको गाउँपालिकाले आएर पढाइदिन अनुरोध गर्यो, अनिमालाई त्यो बस्तीका बालबालिकाको भविष्यको चिन्ताले छोयो । त्यसैले उनी तेस्रो पटक डोल्पा जान तयार भइन् ।

अनिमाका लागि डोल्पा यात्रा एउटा सपनाको यात्रा हो, नेपाली बस्तीहरुलाई अझ सुन्दर बनाउने सपना । डोल्पाका साना नानीहरुलाई भोलिको समृद्ध नेपालका लागि योग्य बनाउने सपना । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्