बुढीगण्डकीको मुआब्जा आनाको २५ लाख मागेपछि आरुघाटको बस्ती नै सार्ने तयारी

काठमाडौं– सरकारले गोरखाको आरुघाट क्षेत्रमा धान्नै नसक्ने गरी स्थानीयबाट मुआब्जाको माग भएपछि त्यस क्षेत्रको बस्ती नै स्थानान्तरण गर्ने सोच अघि बढाएको छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन आरुघाटक्षेत्रको बस्ती हटाएर नयाँ स्थानमा स्थानान्तरण गर्ने सोच अघि सारेको बताए । उनले भने, ‘त्यहाँको जग्गा अधिग्रहण गर्ने सन्दर्भमा प्रतिआना २५ लाख रुपैयाँ स्थानीयको मागलाई सरकारले सम्बोधन गर्न नसक्ने हुँदा विकल्पमा १० स्थानमा जग्गा रोक्का गर्ने काम सुरु गरिरहेको छ ।’

विस्तृत परियोजना अध्ययन प्रतिवेदन भएका राष्ट्रिय गौरवको आयोजनामध्ये बुढीगण्डकी जलविद्युत् आयोजना एक हो । उक्त आयोजना अघि बढाउने सिलसिलामा त्यस क्षेत्रका ६४ हजार जनता प्रभावित हुने बताइएको छ । 

आयोजना अघि बढाउने सन्दर्भमा आरुघाट, आरुखेत र खहरेको मुआब्जाको रकम अधिक माग भएपछि सरकारले केही त्यस क्षेत्रमा केही समयदेखि मुआब्जा वितरण रोकेको छ । बस्ती स्थानान्तरण गर्दा त्यहाँको बजार क्षेत्रका जनतालाई कम्तीमा साढे दुई आनादेखि चार आनासम्म जग्गा शोधभर्नाका रूपमा उपलब्ध गराउनेछ ।

मन्त्री पुनले भने, ‘चिनियाँ गेजुवा कम्पनीले आयोजनाका लागि चासो नदेखाए पनि अवरुद्ध आयोजना हामी अघि बढाउँछौँ, तर अहिलेसम्म कसैलाई दिइसकेका छैनौँ ।’ राष्ट्रिय हितभन्दा दायाँबायाँ गरेर आयोजना अघि नबढाउने बताउँदै उनले भने, ‘राष्ट्र र जनताको हितविपरीतमा आयोजना अघि बढाइने छैन ।’ 

मुलुक बिजुलीमा आत्मनिर्भर हुने तथा विद्युत् व्यापारमा जान सक्ने महत्वपूर्ण कडीका रुपमा यो आयोजनालाई लिइएको छ । सांसदहरूले बुढीगण्डकी आयोजना अर्थशास्त्रको सिद्धान्तका आधारमा अघि बढाइएको हो कि राजनीतिक दर्शनका आधारमा ? भनेर प्रश्न गरेका थिए ।  



जवाफमा मन्त्री पुनले भने, ‘राजनीतिशास्त्रको नीतिगत तहमै आयोजनाको काम भइरहेको छ ।’ तीन खर्ब लागत अनुमान गरिएको उक्त आयोजना एक हजार २०० मेघावाट क्षमताको हुने अध्ययन प्रतिवेदनले जनाएको छ । 

उक्त आयोजनाबाट विद्युत् उत्पादन हुँदा कम्तीमा प्रतियुनिट १९ रुपैयाँ पर्ने बताइएको छ । उक्त आयोजनाका लागि मुआब्जाबापत सरकारले हालसम्म ४१ हजार ९ सय ३४ रोपनी जग्गालाई २५ अर्बभन्दा बढी रकम वितरण गरिसकेको छ ।



  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १६:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया