राज्य व्यवस्था समिति बैठक
नेपाल प्रहरीलाई सुरक्षामा नखटाऔँ– सांसद, खटाएर 'सुरक्षा कर' उठाऔँ– गृह सचिव

काठमाडौं– संघीय संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र खटाई सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिने प्रस्ताव गरेका छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरु  जनार्दन शर्मा, नवराज सिलवाल, दिलेन्द्रप्रसाद बडुलगायतले यस्तो प्रस्ताव राखेका हुन् ।

समितिमा छलफलमा रहेको विधेयकको दफा ३ मा नेपाल प्रहरीको काम, कर्तव्यको व्यवस्था छ । आजको छलफल यसै दफामा केन्द्रित थियो । 

छलफलका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका सांसद शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै जिम्मा दिएर सुरक्षाको सबै जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने प्रस्ताव राखे । तत्काल अनुसन्धान गर्नुपर्ने ठाउँमा नेपाल प्रहरीलाई राख्ने र सुरक्षा मात्रै दिने ठाउँमा सशस्त्रलाई खटाउनुपर्ने उनको धारणा रह्यो । 

सत्तापक्षका सांसद शर्माको प्रस्तावमा प्रतिपक्षी सांसद बडुले समर्थन जनाए । नेपाल प्रहरीकै पूर्व डिआइजी नेकपा सांसद नवराज सिलवालले पनि प्रहरीको क्षेत्राधिकार कटौती गर्ने प्रस्तावमा समर्थन जनाए । विमानस्थल, राजमार्ग तथा राष्ट्रिय आयोजनाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने धारणा उनले राखे । कारागारको सुरक्षामा भने नेपाल प्रहरीको पनि टोली राख्न उनले प्रस्ताव गरे । 

छलफलका क्रममा गृह–सचिव प्रेमकुमार राईले निजी उद्योग, कम्पनी तथा आयोजनालाई सुरक्षा दिएबापत ‘सुरक्षा कर’ उठाउने प्रस्ताव अघि सारे । सरकारले सुरक्षा प्रबन्ध मिलाइदिने तर नाफा निजी क्षेत्रले मात्र लिने गरेको भन्दै सचिव राईले अब उनीहरुबाट सुरक्षा कर लिनुपर्ने बताए ।



सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई नदिने गरी क्षेत्राधिकार कटौती गर्ने सांसदहरुको प्रस्तावपछि उनले निजी आयोजनामा सुरक्षा दिँदा सुरक्षा कर लिने प्रस्ताव गरेका हुन् ।



  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १६:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया