उपत्यकामा दैनिक चोरिन्छन् १९ मोटरसाइकल, पुर्याइन्छन् चितवन
साङ्केतिक तस्वीर

काठमाडौं– दुई साताअघि शुक्रबारको साँझ । 

चितवनका अन्जन खनाल साथीहरुसँग ठमेलमा पुगे । राति अबेर फर्किनु पर्ने भएकाले उनले चार महिना अगाडि किनेको पल्सर बाइक सँगै लिएर गएका थिए । 

साथीहरुसँग केही समय उनीहरु एउटा रेष्टुरेन्टमा भुले । रातको झन्डै साढे नौ बजे जब उनीहरु घर फर्किन बाहिर निस्किए, अन्जनले आफूले पार्क गरेर राखेको बाइक भेट्ट्याएनन् । 

केहीबेर यताउता खोजे । तर, बाइकको पत्तो नपाएपछि उनले प्रहरीलाई खबर गरे । 

नेपाल प्रहरीले बाइकको खोजी सुरु गर्यो । तर, उनको बाइक भेटिएनन् । 

अन्जनको मात्र होइन, पछिल्ला दिनमा पार्किङ गरेर राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । नेपाल प्रहरीको अनुसन्धान महाशाखाका एक प्रहरी अधिकारीका अनुसार अहिले दैनिक सरदर १९ बाइक हराउन थालेका छन् । 



यसरी हराउने अधिकांश बाइकमा बजाजको पल्सर मोटरसाइकल छन् । त्यसपछि एनएस मोटसाइकल बढी चोरी हुने गरेको प्रहरीले आफ्नो तथ्याङ्कमा देखाएको छ । त्यस्तै, टिभिएस मोटरसाइकल पनि बढी चोरीमा पर्ने गरेका छन् । 

 



काभ्रे र नुवाकोटका ‘चोर’

अपराध अनुसन्धान महाशाखाका एक अधिकारीका अनुसार काभ्रे र नुवाकोटका युवाहरु चोरीमा बढी संलग्न छन् । त्यस्तै, सिन्धुपाल्चोकका युवाहरु पनि चोरीमा छन् । यसरी मोटरसाइकल चोरी गर्नेहरुले काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने र त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्याउने जिम्मेवारी पनि आफैं लिन्छन् । 

साँझपख चोरी भएका मोटरसाइकल रातारात वर्कसप तथा रिकन्डिसन हाउस पुर्याइने र त्यहाँ खोलखाल पारेर ती मोटरसाइकलका पार्ट्स बेचिने गरेको प्रहरीले जनाएको छ । यसरी काठमाडौंमा चोरी भएका मोटरसाइकल पछिल्लो समय चितवन पुर्याइने गरेका छन् । 

चितवनमा चोरीका मोटरसाइकल किन्ने चार समूह रहेका छन् । 

तीमध्ये मिलन भनिने धनबहादुर लामालाई प्रहरीले पक्राउ गरि ललितपुर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ । त्यस्तै, चोरीका मोटरसाइकल किन्ने र पार्ट्स खोलेर बेच्नेमा चितवनका दिपु भनिने दिपेन्द्र श्रेष्ठ, रोदन श्रेष्ठ, सुमित शाही र विकास मगरले आआफ्ना वर्कसपबाट बेचिरहेका छन् । 

काठमाडौंमा चोरी भएका बाइकलाई उनीहरुले २५ देखि ३० हजारसम्म चोरबाट किन्ने गरेका छन् । उनीहरुले यी मोटरसाइकललाई सोझै आफ्नो मोटरसाइकल वर्कसप पुर्याउँदैनन्, पहिले एक ठाउँमा जम्मा गरेर त्यसलाई खोलखाल पार्छन् । 

‘त्यसलाई उनीहरुले अपरेसन गर्ने भन्दा रहेछन्,’ ती प्रहरी अधिकारीले बताए, ‘एकै छिनमा मोटरसाइकल खोलेर उनीहरुले ती पार्ट्सहरुलाई सफा गरेर प्याकिङ गर्छन् ।’

पछिल्लो समय चोरीका मोटरसाइकलको इन्जिन र च्यासिस चाहिँ कवाडीमा बेच्ने गरेको प्रहरीले जनाएको छ ।

 

(पछिल्लो समय काठमाडौंमा मोरसाइकल चोरी निकै बढिसकेको छ । काठमाडौंमा चोरी भएका मोटरसाइकल कसरी चितवन पुर्याइन्छन् र त्यहाँ कसकसले कसरी त्यसलाई बेचिरहेका छन् भन्ने यो समाचारको फलो अप शुक्रबार फरक धारमा प्रकाशित हुनेछ ।)

  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १२:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया